पार्टीमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न महिला संघको माग

काठमाडौं– नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघले पार्टीका सबै तहमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

नेपाल महिला संघले पार्टीको विधान संशोधनका लागि दिएको सुझावमा पार्टीका सबै तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुने गरी पार्टीको विधानमै व्यवस्था गर्न माग गरिएको हो ।

पार्टीको सबै तहमा ३३ प्रतिशत महिला सुनिश्चित गर्न माग गर्दै पार्टीको विधान संशोधनका लागि पार्टी नेतृत्वसँग आग्रह गरिएको संघकी अध्यक्ष उमा रेग्मीले जानकारी दिइन् ।

उनले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले निर्वाचन लड्नका लागि स्थानीय तहमा ५० प्रतिशत र प्रदेश तथा संघमा न्यूनतम ३३ प्रतिशत महिलाहरुलाई टिकट दिनुपर्ने माग गरिन् ।

संघले पार्टीको क्रियाशील सदस्यता वितरण गर्दा सक्रिय महिलाहरुलाई प्राथमिकता दिनुपर्ने, टिकट वितरण गर्ने संसदीय समितिमा संघको केन्द्रिय अध्यक्ष, जिल्लामा जिल्ला अध्यक्ष अनिवार्य रहने व्यवस्था पनि विधानमा गर्न विधान संशोधन समितिलाई सुझाव दिएको छ ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन समितिले भदौं महिना भित्र तयार पार्ने गरी आफ्नो कामलाई सुरु गरेको छ ।

संघले विधानमा मधेशमा खस आर्यलाई आरक्षणको व्यवस्था गर्न पनि माग गरेको छ ।