शिब भण्डारी
लण्डन। आगामी सेप्टेम्बर १ तारिख शनिबार एनआरएन युकेको आयोजनामा हुन लागेको ‘डिसाबिलिटी एड इभिनिङ ‘युके नेपाल कार्यक्रममा सहभागी हुन एक खुट्टाको भरमा कुसल नृत्य गर्न सफल चर्चित डान्सर निलम ढुङ्गाना बेलायत आइपुगेकी छन् । शनिबार अल्डरसटको एम्पायर हलमा आयोजना हुने कार्यक्रमका लागि डान्सर ढुङ्गाना सोमबार सांझ लण्डन उत्रिएकी हुन् । कलाकारको स्वागतका लागि प्रेम गाहा मगर,धिरज राई,अमृता गिरि गजुरेल, अन्जु श्रेष्ठ ,बिनोद बुढाथोकी, हरि बुदा दिपक मैथाने मगर,मधु घिमिरे, देब गुरुङ लगायतले विमानस्थलमै कलाकारलाई न्यानो स्वागत गरेका थिए ।
कार्यक्रमका लागि पहिलोपटक लण्डन आइपुग्दै गरेकी चर्चित डान्सर निलम उत्साहित देखिन्थिन् । ‘निकै खुशी र उत्साहित छु पहिलोपटक कार्यक्रम गर्न बेलायत आउन पाएकोमा’, नीलमले सुनाइन्, ‘बेलायतमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरुमाझ विशेष प्रस्तुति दिने तयारीसहित आएकी छु ।’ विमानस्थलमा उत्रिनेवित्तिकै पाएको न्यायो स्वागतबाट दंग निलमले सेप्टेम्बर १ को आफ्नो कार्यक्रममा उपस्थित भइदिन बेलायतबासी सबै नेपालीहरुलाई आग्रह पनि गरेकी छन् ।
गोर्खाली चेलीका रुपमा परिचित चर्चित बेलायती अभिनेत्री जोआना लुम्ले र बेलायतको प्रतिष्ठित ग्यालन्ट्री क्रस बाट सम्मानित गोर्खा सैनिक दिपप्रसाद पुनलाई विशेष अतिथीका रुपमा उक्त कार्यक्रममा आमन्त्रण गरिएको छ । कार्यक्रमका लागि तयारी लगभग पूरा भएको एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी ,एनआरएन युकेका उपाध्यक्ष तथा च्यारिटी बिभाग संयोजक प्रेम गाहा मगर र महासचिब आर के त्रिपाठीले बताए ।
उक्त कार्यक्रममा एउटा खुट्टाले नाचेर ठूलो ख्याती कमाउन सफल कलाकार निलम ढुंगाना, अफगानिस्तानमा दुवै खुट्टा गुमाएर पनि साहसिक रुपमा विभिन्न पर्वतारोहण पूरा गरेका किर्तिमानी भूपू गोर्खा हरि बुढा मगरदेखि बेलायती सेनामा सेवाकै क्रममा अपांगताको शिकार बनेर पनि समाजमा विभिन्न उदाहरणीय कार्यहरु गर्दै आएका विनोद बुढाथोकी, नेत्र राना र शिव थजाली, कुशल नृत्यांगना तथा मिसेस यूके नेपालकी एक विजेता अमृता गिरी लगायतले आफ्ना विशेष प्रस्तुति देखाउनेछन् । त्यस अवसरमा हरि बुढा मगर र विनोद बुढाथोकीले आफ्नो जीवन अनुभवबारे मन्तव्य पनि राख्नेछन् । ६ सय जना सहभागी हुने अपेक्षा गरिएको कार्यक्रमबाट झण्डै १४ हजार पाउण्डको कोष संकलन गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा सहभागिताको लागि ४० पाउण्डको टिकट लाग्ने आयोजकले बताएका छन् ।अपङगता भएका ब्यक्तीहरूको सत्य घटनामा आधारित हृदय बिधारक ड्रामा सो हुने बताइएको छ ।
यसै बीच कलाकार निलम ढुगानालाइ स्वागत गर्न महासचिब आर के त्रिपाठी ,डा. मिन राना भाट, होमनाथ पौडेलसमेतको उपस्थिति रहेको थियो। 
हेर्नुहोस् लण्डन नेपाल न्यूज डट कम का प्रधान सम्पादक शिब भण्डारीले तयार पारेको स्थल्गत भिडियो रिपोर्ट—
उक्त कार्यक्रमको स्थलगत रिपोर्ट विश्वभर पुर्याउन लन्डन नेपाल न्यूज डट कमले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।







