होला त आज प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन ?

काठमाडौँ- प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन हुने वा नहुने विषयमा निर्णय गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दैछ । बिहान १० बजेका लागि बोलाइएको बैठकले जोशीको नाम अनुमोदन गर्ने वा अस्वीकृत गर्ने भन्ने निर्णय लिने समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

‘आज बैठक बस्छ, बैठकले के निर्णय गर्छ त्यहिबेला थाहा हुन्छ,’ जेष्ठ सदस्य कर्णले बताए ।

जोशीको गत बिहीबार नै सुनुवाइ सम्पन्न भएको थियो ।

तर, निर्णय गर्न बोलाइएका बैठकमा समितिका सदस्यहरुबीच मत बाझिँदा समिति प्रति नै प्रश्न गर्न थालिएको छ ।

जोशीले गरेका फैसलामा विवाद आएको तथा नक्कली शैक्षिक प्रमाणपत्र रहेको भन्ने संसदीय सुनुवाइ समितिमा उठेका प्रश्नहरुका उचित जवाफ नदिएको भन्दै समितिका दुई तिहाई सदस्यहरु प्रधानन्यायाधीमा नाम अस्वीकृत गर्नुपर्ने पक्षमा उभिएका छन् ।

उनीहरुले उनको इजलाशले गरेका फैसलाहरुका बारेमा समेत प्रश्न उठेपछि समितिले अनुमोदन गर्दा जटिलता थपिने बताउँदै आएका छन् ।

१५ सदस्य रहेको संसदीय सुनुवाइ समितिमा नेकपाका ९, नेपाली काङ्ग्रेसका ४, राष्ट्रिय जनता पार्टी (राजपा)का १ र संघीय समाजवादीका १ सदस्य छन् ।

जेष्ठ सदस्यको रुपमा राजपाका लक्ष्मणलाल कर्णले संयोजकको भूमिका निभाइरहेका छन् । जोशीको नाम अस्वीकार गर्न समितिमा रहेका सदस्यमध्ये दुई तिहाई अर्थात १० सदस्य पुग्नुपर्दछ । त्यसमा सत्तापक्षका १० जना सांसद छन् । यो संख्या जोशीको विपक्षमा निर्णय गर्न प्रर्याप्त हुन्छ ।

यसैबीच प्रधानन्यायाधीश प्रकरणमा विवाद भएपछि जोशीले राजीनामा दिनसक्ने भएपनि उनले अहिलेसम्म राजीनामा दिन चाहेका छैनन् । जोशीले राजीनामा नदिएपछि विकल्पमा उनका विरुद्धमा संसदमा महाअभियोगको प्रस्ताव लैजाने सत्तापक्षबीच छलफल भइरहेको बताइएको छ ।