आफ्नो सीमामा प्रवेश गरेको सिरियाको एक लडाकु विमानलाई इजराइलले खसालेको दाबी गरेको छ ।
इजराइल र सिरियाबीचको सम्बन्ध चिसो छ तर एक अर्काको देशको लडाकु विमान खासालेको घटना कमै सार्वजनिक भएका छन् ।
इजराइलबाट आइरहेको खबर अनुसार सिरियाको विमान इजराइलस्थित गोलान पहाडमाथि बाट उडिरहेका बेला खसालिएको हो ।
लडाकु विमानमा सवार पाइलटको अवस्था के छ, त्यसबारे पत्ता लागेको छैन ।
सिरियाको समाचार एजेन्सी सनाका अनुसार इजराइलले सिरियाको विमानलाई सिरियाकै वायुक्षेत्रमा निशाना बनायो ।
सैन्य सूत्रलाई उद्धृत गर्दै सनाले दिएको जानकारी अनुसार उक्त विमान दक्षिणी यारमुक घाटी नजिकै ‘हतियारधारी चरमपन्थी समूह’ माथि हमला गरिरहेको थियो ।
सिरिया यो इलाकामा रहेका विद्रोही समूहलाई चरमपन्थी मान्छ ।
यस्तै, एक इजराइली वेबसाइट अनुसार उत्तरी इजराइलमा बस्ने मानिसहरुले एक इन्टरसेप्टर मिसाइल प्रहार गरिएको र बिस्फोटको आवाज सुनेको बताए ।
समाचार एजेन्सी एफएपीका अनुसार सिरिया र इजराइली कब्जा भएको सिरियाली गोलान पहाडका बीच आगो र धुँवा देखिएको छ ।






