महानायक राजेश हमाल लण्डन आइपुगे,’म अनि मेरो मातृभूमि’जुलाई २१मा

शिव भण्डारी

लण्डन । नेपाली चलचित्र जगतका महानायकका रुपमा स्थापित अभिनेता राजेश हमाल लण्डन आइपुगेका छन् । एनआरएन यूकेको युवा विभागले यहि शनिबार बेलायतको टिडवर्थमा आयोजना गर्ने एक अन्तरक्रियामा भाग लिन अभिनेता हमाल विहिबार सांझ लण्डन आइपुगेका हुन् । हिथ्रो विमानस्थलको टर्मिनल ४ मा उत्रिएका अभिनेता हमालले विमानस्थलमै न्यानो स्वागत ग्रहण गरे । कार्यक्रमको आयोजक एनआरएन यूके युवा विभागका संयोजक एलबिजेड गुरुङका साथै एनआरएन यूके उपाध्यक्ष शेर सुनार, सहारा यूके अध्यक्ष मिनबहादुर गुरुङ, सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राई , पत्रकार शिव भण्डारी, हेम गुरुङ, प्रकाश कंडेल लगायत एक दर्जन भन्दा बढि हमालको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरुसंग अभिनेता हमालले एनआरएन यूकेको युवा विभागले गर्न लागेको कार्यक्रम उपलब्धिपुर्ण रहने विश्वास व्यक्त गरे । बेलायतस्थित नेपाली युवाहरुलाई एनआरएन अभियान तथा समग्र नेपालसंग जोड्ने प्रयास स्वरूप टिडवर्थ ग्यारिजन थिएटरमा ’म अनि मेरो मातृभूमि’ विषयक अन्तरक्रिया गरिदैछ ।

कार्यक्रममा सहजकर्ताको भुमिका निर्वाह गर्ने नेपालका चर्चित मिडियाकर्मी दिलभुषण पाठक भने बुधबार नै लण्डन आइसकेका छन् ।

एनआरएनए यूके महासचिव आर के त्रिपाठीले युवा लक्षित यस कार्यक्रम एनआरएनए यूके इतिहासमा पृथक र ऐतिहासिक हुने भन्दै सहभागी भएर सफल पार्न सबैमा अनुरोध गरेका छन ।