काठमाडौँ- प्रतिनिधिसभाको पहिलो बैठक बसेको पाँच महिना भयो । तर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको नेता चयन गर्ने नगरेको मात्रै होइन, सो दलमा औपचारिक एजेन्डासमेत बन्न सकेको छैन । राजपा नेपालको अध्यक्ष मण्डल, राजनीतिक समिति तथा सचिवालयको बैठकहरू पटक पटक बसेका छन् । तर, बैठकमा संसदीय दलको नेता चयन औपचारिक एजेन्डा बन्न सकेको छैन । राजपा संसदको तेस्रो ठूलो शक्ति हो ।
राजपा नेपालमा मुख्य विवाद संसदीय दलको नेता चयन गर्नु नै रहेको छ । तर नेताहरूले त्यसलाई समधान गर्नका लागि पहल गरेको देखिँदैन । असार ४ गतेदेखि तीन दिनसम्म बसेको राजनीतिक समितिको बैठकमा समेत संसदीय दलको नेता चयन गर्ने विषय एजेन्डा बनेको थिएन । तीन दिनको बैठकमा पार्टीको महाधिवेशन, पार्टीको विधान, समसामयिक राजनीतिक घटनाक्रम तथा नियमावलीको विषयमा छलफल भएको थियो ।
बैठकमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदीय दलको नेता चाँडो चयन गर्नुपर्ने प्रस्ताव मौखिक रूपमा राखेका थिए । तर उनको प्रस्तावमाथि कसैले वास्ता गरेनन् । बैठकमा अन्य नेताहरूले पटक पटक यो विषय उठाएपछि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले असारको पहिलो वा दोस्रो हप्ताभित्र संसदीय दलको बैठक बसेर टुङ्गो लगाउने बताएका थिए । त्यसपछि असार १०–११ गते संसदीय दलको बैठक बसेर त्यसको टुङ्गो लगाउने एउटा समझदारी बनेको थियो । तर, त्यो दिन अध्यक्ष मण्डलका सदस्यद्वय महेन्द्र राय यादव र अनिलकुमार झा राजधानी बाहिर भएका कारण बैठक बस्न नसकेको राजपा नेपालका महासचिव केशव झाले बताए ।
राजपा नेपालको राजनीतिक समितिको बैठक भोलि बिहीबार बस्दैछ । त्यो बैठकमा पनि संसदीय दलको नेता चयनको विषयमा छलफल हुने कि नहुने एजेन्डामा परेको छैन ।
भोलि बस्ने राजनीतिक समितिको बैठकमा आगामी वैशाखमा हुने महाधिवेशनको तयारी, पार्टी विधानमाथि छलफल, देशको सामसायिक राजनीतिक अवस्था लगायतका विषय एजेन्डामा परेको छ तर संसदीय दललाई कुनै ठाउँ दिएको छैन ।
पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले भोलि बस्ने बैठकको एजेन्डामा संसदीय दलका नेता चयन गर्ने विषय नपरेको बताए । “महाधिवेशनको तयारी, पार्टीको विधानलगायतका विषय परेको छ”, उनले भने, “बैठकमा छलफल हुनसक्छ तर एजेन्डाकै रूपमा अहिलेसम्म आएको छैन ।” त्यही एजेन्डाहरूको विषयमा छलफल गर्न बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष मण्डलको बैठक बसिरहेको छ ।
यसअघि बसेको राजनीतिक समितिको बैठकमा प्रस्तुत भएको तीनवटा पार्टीको मस्यौदा विधानको बारेमा अध्ययन गर्नका लागि पार्टीका नेता लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल सम्मलित एउटा कार्यदल बनाएको थियो । अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो, अनिलकुमार झा र महेन्द्र राय यादवले छुट्टा छुट्टै मस्यौदा विधान प्रस्तुत गरेका थिए । सो विधानलाई कार्यदलले अध्ययन गरी प्रतिवेदन तयार गरिसकेको छ । भोलि बस्ने राजनीतिक समितिको बैठकमा प्रस्तुत गर्ने कार्यदलका सदस्य लालले बताए ।
किन बनेन एजेन्डा ?
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतो संसदीय दलका नेताका दाबेदार हुन् । दुवै जनाले सर्वसम्मति नेता बन्न पाउनुपर्ने दाबी गरेका छन् ।
पार्टीका संयोजक अथवा अध्यक्ष हुने व्यक्ति नै संसदीय दलको नेता रहने मान्यता भएको कारणले महन्थ ठाकुर नै संसदीय दलको नेता हुने एकथरीको मान्यता छ भने अर्को थरीले एक व्यक्ति एक पद हुनुपर्ने भन्दै राजेन्द्र महतोको पक्षमा लबिङ गरिरहेका छन् ।
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूलाई संसदीय दलको नेता सर्वसम्मतिले नदिए चुनाव गराउने चेतावनीसमेत दिँदै आएका छन् । अर्कोतिर यदि महन्थ ठाकुर अध्यक्ष मण्डलका सदस्य भए आफूलाई पार्टीको अध्यक्ष बनाउनुपर्ने प्रतिबद्धता पनि महतोले खोजेका छन् । तर संयोजक ठाकुर पक्षले महतोलाई अहिले नै पार्टीको अध्यक्ष बनाइदिने प्रतिबद्धता जनाउन चाहेका छैनन् । राजेन्द्र महतोको यस्तै विभिन्न दाबीका कारण राजपा नेपालका संसदीय दलको एजेन्डा बन्न सकेको छैन र नेता चयनमा गर्नमा ढिलाइ भएको अध्यक्ष मण्डलका एक सदस्यले बताए ।
राजपा नेपाललाई तत्काल सरकारमा पनि जानु छैन । संसदीय दलबाट त्यस्तो खासै निर्णय पनि गर्नु परेको छैन । संसदीय दलको नेताविना पनि काम चलिहरेको छ । संसदीय दलको नेताको खासै आवश्यकता महसुस नभएको कारण पार्टीमा त्यसको एजेन्डा नबनेको एकथरिको मान्यता छ ।
यद्यपि अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवले संसदीय दलको बैठकबाट संसदीय दलको नेताको चाँडो टुङ्गो लगाउने बताए ।






