लण्डन । लण्डनको प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरले यहि जुलाई ८ तारिख आइतबारका दिन एक बृहद च्यारिटी कार्यक्रम गर्दैछ । युरोपमै नेपालीहरुबाट स्थापित पहिलो यो मन्दिरको भवनलाई फ्रिहोल्ड गराउन आवश्यक कोष संकलन गर्ने उद्धेश्यले प्लमस्टिडस्थित स्वामी नारायण मन्दिरको हलमा उक्त कार्यक्रम गरिन लागेको हो ।

आइतबार बिहान मन्दिर परिसरमा एक पत्रकार सम्मेलन गर्दै मन्दिर व्यवस्थापन समिति तथा ट्रस्टी बोर्ड सदस्यहरुले च्यारिटी कार्यक्रमलाई सफल बनाइदिन बेलायतबासी नेपालीहरुसमक्ष अपील गरे । मन्दिर व्यवस्थापन समिति अध्यक्ष सहदेव गिरीले मन्दिरको भवनको पुर्ण स्वामित्व मन्दिरलाई नै दिलाउने लक्ष्यसहित च्यारिटी कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
मन्दिरको भवनलाई फ्रिहोल्ड गर्न अझै पनि डेढ लाख पाउण्डको आवश्यकता छ, मन्दिरको लागि त्यो रकम ऋण जस्तै छ । त्यहि ऋण चुक्ता गरेर मन्दिरलाई आफ्नै स्वामित्व दिलाउन आवश्यक रकम यो कार्यक्रमबाट संकलन गर्ने हाम्रो प्रयास छ, अध्यक्ष गिरीले भने । च्यारिटी कार्यक्रमका संयोजक डा अच्युत धितालले दिर्घकालीन रुपमा मन्दिरलाई मन्दिर तथा कम्युनिटी हलको अवधारणमा लैजाने लक्ष्य रहेको उल्लेख गर्दै अहिलेको लागि मन्दिर भवन फ्रिहोल्ड गराउने लक्ष्य राखिएको बताए ।
संस्थापक अध्यक्ष होमनाथ शर्माले मन्दिर स्थापनाका सन्दर्भ र पृष्ठभुमि उल्लेख गर्दै बेलायतको नेपाली समुदायमा मन्दिरको आवश्यकता र महत्वबारे बताए । मन्दिरका संरक्षक तथा पण्डित निलहरि घिमिरेले लण्डनमा स्थापना भएको पशुपतिनाथ मन्दिर बेलायतमा नेपालीहरुको अर्को पुस्ताको लागि समेत गौरवको विषय बन्ने भन्दै यसको विकास र संरक्षणमा सबै एकजुट हुनुपर्ने बताए ।
त्यसअवसरमा मन्दिरको ट्रस्टी बोर्ड संयोजक कर्ण शाही, प्रचारप्रसार संयोजक फडिन्द्र भटट्राई, व्यवस्थापन समिति उपाध्यक्ष नरेन्द्र कंडेल, ट्रस्टीहरु दिपक श्रेष्ठ, विनोद ज्ञवाली, जिवन वाग्ले, गोपाल अर्याल, व्यस्थापन समिति सदस्य सरिता पौडेल, तारा भट्टराई, लिलादेवी गुरुङ लगायतले जुलाई ८ को कार्यक्रमको तयारीबारे विविध जानकारी गराउंदै कार्यक्रममा सहभागी बनेर सफल बनाइदिन आव्हान गरेका थिए । सोहिअवसरमा मन्दिरलाई ५ हजार पाउण्डको सहयोग प्रतिबद्धता गरेर ट्रस्टी बोर्डको सदस्यता लिने घोषणा गर्ने पण्डित दधिराम काफ्ले र तारा भट्टराई तथा आजीवन सदस्यता लिने ह्यारी गुरुङ, लिलादेवी गुरुङ र गुणदेव घिमिरेलाई खादा ओढाएर सम्मान तथा स्वागत गरिएको थियो ।
तारा भट्टराई मन्दिरको ट्रस्टी बोर्डको सदस्य लिने अहिलेसम्मकै एक मात्र महिला सदस्य हुन् ।
च्यारिटी कार्यक्रमको प्रचारप्रसार र ट्रस्टी तथा आजीवन सदस्यता वितरणको कार्यलाई गति दिन अहिले साउथ ईस्ट लण्डनका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम समेत सञ्चालन गरिएको छ । मन्दिर व्यवस्थापन समिति र ट्रस्टी बोर्डका सदस्यहरु विभिन्न छुट्टाछुट्ै समुह बनाएर घरदैलोमा हिडिरहेका छन् । सन् २००३ मा स्थापित मन्दिर पछिल्लो झण्डै एक दशकदेखि आफै भवन खरिद गरेरसञ्चालन हुंदै आएको छ ।
पत्रकार सम्मेलनको प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कमकमका प्रधान सम्पादक शिव भण्डारी र सहकर्मी गुणदेब घिमिरेको सहयोगमा तयार पारेको स्थलगत अपील सहितको लाइभ भिडियो-रिपोर्ट यस्तो छ हेर्नुहोस–
https://www.facebook.com/londonnepalnews/videos/1685643214887533/
मन्दिर व्यवस्थापन समितिका महासचिव दासुराम पाण्डेले सञ्चालन गरेको बैठकको अध्यक्षता अध्यक्ष सहदेव गिरीले गरेका थिए । कार्यक्रममा सहभागी पत्रकारहरुका विभिन्न जिज्ञासामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य पदाधिकारीहरुले जवाफ दिएका थिए ।






