लण्डन- गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत पब्लिक लाइब्रेरी टास्क फोर्स (२०१७-१९) को प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।
टास्क फोर्सका संयोजक नरेश कोइरालाको अध्यक्षतामा स्काइप अडियो कल मार्फत बसेको सो बैठकमा आज सम्म बिगतमा टास्क फोर्सले गरेका कार्यहरुको समिक्षा गर्नुका साथै आगामी दिनमा गरिने कार्यहरुको फेहरिस्त तयार समेत गरेको छ ।
सो बैठकमा एन आर एन अन्तर्राष्ट्रिय समन्वय परिषद तथा बिभिन्न देशहरुमा रहेका बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुसंग समन्वय गरि नेपालका बिभिन्न क्षेत्रहरुमा लाइब्रेरी बिस्तार गरि त्यसलाई प्रभावकारी ढंगले संचालनमा ल्याउने निर्णय गरेको छ ।
देश बाट परदेशिएर संसारको बिभिन्न देशहरुमा रहेका नेपालीहरु आफ्नो देश अनि गाउ एबम आफु पढेको विद्यालयको लागि केहि गर्न चाहन्छन, जसको लागि उपयुक्त माध्यम खोजिरहेका छन् भन्ने कुरालाई मनन गरेर उहाहरुको सहयोगमा उहाहरुले इच्छाउनु भएको स्थान वा बिद्यालयमा लाइब्रेरी संचालनार्थ नेपाल लाइब्रेरी फाउन्डेसन्, नेपाल समेतको सहभागितामा आवश्यक ब्यबस्था मिलाउने निर्णय समेत गरिएको कुरा टास्क फोर्सका संयोजक नरेश कोइराला (क्यानाडा) ले बताए ।
देशको बिपन्न बिद्यालयमा पढेर आज संसारको सम्पन्न मुलुकमा पुगेका नेपालीहरुलाई कमसेकम पनि आफु पढेको बिद्यालयमा लाइब्रेरी स्थापना गरौ भन्ने अभियान चलाउन ”पढेको स्कुल, बढेको गाउँ , सबै मिलि लाइब्रेरी बनाउँ” नारा तय गरिएको कुरा पनि सो टास्क फोर्सका सदस्य शिवजी श्रेष्ठ (बेलायत) ले बताए।
अहिले लोकप्रिय हुदै गएको इ-लाइब्रेरी संगै म्यानुयल लाइब्रेरीलाई पनि संगै अगाडी बढाउन स्थानीय जनता तथा निकायको समेत यसमा सहभागितालाइ प्राथमिकतामा राख्ने निर्णय गरिएको कुरा टास्क फोर्सका अर्का सदस्य डा. अग्नि राज कोइराला (दक्षिण कोरिया)ले जनाउनु भयो ।
नरेश कोइरालाको संयोजकत्वमा गठित सो टास्क फोर्समा उपसंयोजक न्युजिल्यान्डका चक्र बहादुर थापा, सदस्यहरुमा दक्षिण कोरियाका डा अग्निराज कोइराला, आयरल्याण्डका गंगाराम कंडेल, क्यानाडाका चुडामणि उप्रेती, डेनमार्कका मोहन राज मिश्र, क्यानाडाका डा. कृश हुमागाईं, बेलायतका शिवजी श्रेष्ठ, क्यानाडाका रबिन थपलिया, थाईल्याण्डका सुनिल खड्का, अष्ट्रेलियाका बिष्णु हमाल, क्यानाडाका राजीव जंग प्रताप केसी रहनु भएको छ ।






