गुल्मी- नेपाली कांग्रेस गुल्मीले ‘गाउँ जाऔं, गाउँमै रमाऔं’ अभियान सुरु गरेको छ । उक्त ‘गाउँ जाऔं, गाउँमै रमाऔं’ अभियान नयाँ वर्षमा ५० दिनसम्म चल्ने कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

जनतासँग प्रत्यक्ष घुलमिल नहुँदा चुनावमा पराजय भोग्नु परेको भन्दै कांग्रेसले यस्तो अभियान थालेको हो । अभियान अन्र्तगत नेता तथा कार्यकर्ताहरु जिल्लाका ९३ वटै वडामा पुग्नेछन् । ति सवै वडामा पुगेर जनतासँग प्रत्यक्ष घुलमिल गर्ने र दुःख–सुख साट्ने कार्यक्रम रहेको सभापति श्रेष्ठले जानकारी दिए ।

चुनावको बेला मात्रै गाउँ घरमा पुग्ने र चुनाव जितेपछि गाउँमै नफर्किने गर्दा जनतासँगको सम्बन्ध टाढिएको निष्कर्षसहित कांग्रेसले सम्बन्ध सुधारको अभियान थालेको सभापति श्रेष्ठको भनाई छ ।

विशेषगरी गरिव, दलितको घरमा बस्ने, उनीहरुले जस्तो खान्छन् त्यस्तै खाने, उनीहरुको कामलाई सघाउने, जातीय विभेद, सामाजिक विकृति विसंगति र कुरितीलाई हटाउने काममा सक्रिय हुने गरी योजना बनाइएको छ । यदि कुनै कांग्रेस कार्यकर्ताले जातीय छुवाछुत वा विभेद गरेमा पार्टी सदस्यता नै खारेज गर्ने कांग्रेस गुल्मीको योजना रहेको छ ।

फेसबुक कमेन्ट