जितेपछि रवीन्द्रले भनेः लोकतान्त्रिक शासन कस्तो हुन्छ, हामी देखाउँछौँ

पोखरा- वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा विजयी नेकपा एमालेका युवा नेता रवीन्द्र अधिकारीले कम्युनिष्टहरुको सरकार बन्दैमा एकतन्त्रीय तानाशाही व्यवस्था आउँछ भनेर नआत्तिन आग्रह गरेका छन् । प्रतिनिधिसभामा कास्की निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएपछि सञ्चारकमीसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

तेस्रो पटक कास्कीबाट निर्वाचित उनले वामगठबन्धनले सरकार चलाएको हेर्न नेपाली कांग्रेस लगायतका प्रतिपक्षी दलहरुलाई अनुरोध गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुसार आफूहरुले काम गर्ने स्पष्ट पारे । आफूहरुले सु–शासनयुक्त, लोकतान्त्रिक विधि अनुसार प्रतिपक्षीलाई साथ लिएर लोकतान्त्रिक शासन कस्तो हुन्छ भन्ने देखाइदिने दाबी गरे ।

विगतमा आफूले शुरु गरेर अधुरो रहेका योजनाहरुलाई निरन्तरता दिने बताउँदै अधिकारीले जनताको सुखी जीवन र समृद्ध देश बनाउने कार्यमा लागिपर्ने वचनवद्धता व्यक्त गरे ।

कास्की जिल्ला प्रदेश २ ख बाट प्रदेशसभामा निर्वाचित पोखरा उपमहानगरपालिकाका पूर्व मेयर एवं नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई कार्यान्वयन गर्नमा आफू लागिपर्ने वचन दिए ।

बिजय जुलुशले पोखराबजार परिक्रमा गरेको थियो । सो जुलशमा बाजागाजा बजाइनुका साथै ठूलो मात्रामा मोटरसाइकल र नीजि कारहरुको सहभागिता रहेको थियो ।

कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारीले ।८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई पराजित गरेका थिए । अधिकारीले २७ हजार २सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याए ।