यस्तो ठाउँ, जहाँ महिलाहरु भोट हाल्दैनन्, पतिलाई दिन्छन् मतपत्र

दोलखा- तिब्बती सीमावर्ती गाउँ बिगु–१, जगतका कमानध्वज मगरले पञ्चायतकालदेखि बहुदलसम्म स्थानीय निर्वाचन लडे । उनकी श्रीमती यम्बु मगरले भने अहिलेसम्म कुनै पनि चुनावमा भोट हालेकी छैनन् ।

आफ्ना श्रीमान्लाई भोट दिन मन नलागेर भने होइन । भन्छिन्, ‘भोट हाल्नै जान्दिनँ, फेरि श्रीमान् उम्मेदवार भएपछि घरको काम पनि भ्याउनुर्पयो ।’ हाल निर्वाचन लड्न छाडेको बताउने ८० वर्षीय कमानध्वज भन्छन्, ‘बूढीलाई जाउँ भन्दा मान्दिनँ, म त अहिले पनि लौरो टेकेर भए पनि भोट हाल्न जान्छु ।’

स्थानीय अगुवा ७८ वर्षीय अच्युतराज आचार्यका अनुसार यस गाउँका धेरै महिला भोट हाल्न रहरै गर्दैनन् । राजनीतिप्रति निकै चासो र चिन्ता व्यक्त गर्ने उनी भन्छन्, ‘गएको स्थानीय निर्वाचनमा एक मतले नतिजा तलमाथि पार्छ भन्दा पनि मगरलगायत कतिपय महिला मतदानस्थलसम्म जानै मानेनन् ।’

तिब्बती सीमासँग जोडिएको लामाबगरकी ४१ वर्षीया सारी तामाङले पनि जीवनमा एक पटक मात्र मतदान गरिन्, त्यो पनि २०५४ सालको स्थानीय निर्वाचनमा आफन्त उम्मेदवार भएकाले । श्रीमान् गिन्ड तामाङ भोट खसाल्न जाँदा उनी घर कुर्ने, बस्तुलाई घाँसपानी गर्ने काम गर्छिन् । ‘कोक्रोमा छोरो बोकेर २० वर्षअघि भोट हाल्न गएकी थिएँ,’ आँगनको डिलमा बसिरहेकी सारीले त्यो दिन सम्झिइन् । अहिले छोरो २१ वर्ष पुगेको र विदेश गएको उनले सुनाइन् ।

मतदानस्थल गोंगर गाउँ पुग्नुपर्ने भएकाले लामाबगर चौकीपारिका प्रायः महिला भोट हाल्न जानै पाउँदैनन् । गएकाहरूले पनि भोट हाल्न आउँदैन भनेर मतपत्र पुरुषलाई जिम्मा लगाउने गरेको गिन्डले सुनाए । बारीमै भेटिएकी सोमती तामाङ भन्छिन्, ‘मचाहिँ जान्छु तर हाम्रो भोट बूढाले हालिदिन्छन् ।’

बिगु गाउँपालिका–१ स्थित उनकै घरछेउको बारीमा कोदो टिपिरहेका चारमध्ये दुई महिलाको अहिलेसम्म मतदाता नामावलीमा नामै छैन । ‘यसपालाचाहिँ सदरमुकाम चरिकोटमा फोटो खिचेर आएकी छु,’ २५ वर्षीया सुकमाया तामाङले सुनाइन् । ३० वर्षीया चिन्तामाया तामाङले भने यसपालि पनि नाम नलेखाएको बताइन् । ‘भोट हाल्न पाउने भए हाल्थेँ,’ नाम नभएकोमा उनले दुस्खेसो गरिन् ।

पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यसँगै मानव विकास सूचकांकमा पछाडि परेको तिब्बती सीमावर्ती गाउँमा मतदाता नामावली दर्ताका लागि फोटो खिच्ने टोली पुगेको प्रायस् महिलालाई थाहै हुँदैन । मतदानस्थलसम्म जाने गाडी व्यवस्था गर्दा पनि स्थानीय तहको निर्वाचनमा यहाँका महिलाले वास्तै नगरेको एमालेका वडाअध्यक्ष उम्मेदवार बनेका छ्योतर शेर्पाले सुनाए ।

सोही वडामा माओवादी केन्द्रका तर्फबाट निर्वा्चित वडाध्यक्ष हिरन्डेबहादुर गुरुङले पनि केही ठाउँका महिलालाई मतदान गराउन ल्याउन नसकेको बताए । ‘सानो गाउँ भए पनि आफू निर्वाचन लडदा एक सय ३२ जनाको नाम नै छुटेको पाइयो,’ उनले भने, ‘अहिले धेरैको नाम लेखाइयो तर मतदानस्थल ल्याउन सकिँदैन कि भन्ने चिन्ता छ ।’

त्यसो त हिरन्डे र छ्योतर दुवै प्रत्याशीले स्थानीय निर्वाचनका बेला घरघरै गएर आफू उठेको भन्दै भोट दिन अनुरोध गरेका थिए । तर उनीहरूले ‘गाईबस्तु हेर्न‘ छ’ भन्दै आएनन् । मतदानका दिन गाडी चलाउन नपाउने भए पनि त्यो दिन दुवैको सहमतिले मतदातालाई गाडीमा ल्याउने बन्दोवस्त गरेका थिए ।

त्यतिखेर असफल भए पनि यस पटक भने मतदाता नामावलीमा नाम भएकालाई जसरी पनि मतदानको अधिकार उपलब्ध गराउने दुवैले बताए । उक्त वडामा ९ सय ६३ मतदाता छन् । जसमध्ये आधाभन्दा बढी महिला छन् ।