न्यू होराइजनलाई एसपीए कप क्रिकेट उपाधि

चौथो होटल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिताको उपाधि बुटबलको न्यू होराइजन कलेजले जितेको छ । धनगढीमा शनिबार भएको फाइनलमा न्यू होराइजनले भैरहवाको सनसाइन कलेजलाई ७ रनले पराजित गर्दै ५ लाख रुपैयाँ जितेको हो । पहिले ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनायो । सोमपाल कामीले सर्वाधिक ४० रन बनाएको इनिङमा सन्दीप सुनारले ३४ रनको योगदान दिए । त्यस्तै, प्रकाश केसीले २३ तथा सौरभ खनालले २४ रन बनाए ।
जवाफमा सनसाइनले १ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १ सय ६४ रनमात्र बनाउन सक्यो । राष्ट्रिय टिमका पाका खेलाडी शक्ति गौचन र म्यान अफ द म्याच सौरभ खनालले समान ३–३ विकेट लिएसँगै उपाधि होराइजनले जितेको हो ।
सुवोध श्रीवास्तवले २१ बलमा ४६ तथा मायांक यादवले २७ बलमा ४४ रन जोडे पनि टिमलाई जताउन सकेनन् ।
होराइजनका कप्तान सौरभ खनाल म्यान अफ द सिरिज बन्दै ५० हजार रुपैयाँ जिते । त्यसैगरी, सनराइज उच्च मावि कन्चनपुरका अमित श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान तथा पेन्टागन काठमाडौंका राहुल विश्वकर्मा उत्कृष्ट बलर बन्दै जनही २५ हजार रुपैयाँ जिते । कैलालीका विपिन रावल उदीयमान खेलाडी बन्दै क्रिकेट किट र हिरोहन्डा साइकल पुरस्कार जिते ।