भरतपुरको शपथ ग्रहण एमालेद्वारा बहिस्कार

भरतपुर- भरतपुर महानगरपालिकाको शपथ ग्रहण कार्य्रक्रम एमालेले बहिस्कार गरेको छ । आइतवार दिउँसो सुरु भएको शपथ ग्रहणमा एमालेका तर्फबाट निर्वाचित कोही पनि प्रतिनिधिले भाग लिएका छैनन् ।

‘मतपत्र च्यात्नेसंगै शपथ लिंदैनौ । यसले लोकतन्त्रको खिल्ली उडाउने काम हुन्छ’ एमाले चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल भने, ‘हामी छुट्टै भोली शपथ लिन्छौं ।’

गत बैशाख ३१ गते भएको निर्वाचनको मत गणना भइरहेको बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि स्थागित मतगणना सर्वोच्च अदालतको फैसलापछि १९ नम्बर वडाको पुन मतदान भएर गणना भएको थियो । पुन: मतदानपछि भएको मतगणनामा मेयरमा माओवादी–कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले जितेकी छन् ।

भरतपुर महानगरपालिकाको मत परिणाम अनुसार १४ वटा वडामा एमाले, १२ वडामा नेपाली कांग्रेस र ३ वडामा माओवादीले जितेको छ । वडा नम्बर ४ र ७ को भने विवाद भएका कारण पुनरावेदन अदालतले सपथ नखुवाउन आदेश दिएकोले रोकिएको छ ।