कलाकार दिपक क्षेत्रीलाई क्यान्सर

लामोसमयदेखी घाँटीको समस्याका कारण थला परेका कलाकार दिपक क्षेत्रीलाई क्यान्सर भएको पुष्टि भएको छ । हिमाल अस्पताल नक्सालमा डाक्टर बिमल सिन्हाको टोलीले गत हप्ता गरेको घाँटीको सल्यक्रियाको रिपोर्ट आएपश्चात क्षेत्रीलाई ‘भोकल कर्ड’मा क्यान्सर भएको पुष्टि भएको हो ।

डाक्टर सिन्हाका अनुसार कलाकार क्षेत्रीलाई पहिलो स्टेजको क्यासर भएको हो । उनको थप उपचार ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा हुनेछ ।

उनको उपचार हुन करिब डेढ महिना लाग्ने उपचारमा संलग्न डाक्टरहरुको टोलीले जनाएको छ । अब उनको उपचार रेडियो थेरापी पद्धतीबाट हुनेछ ।

बिगत ४ बर्षदेखी घाँटीको समस्याका कारण थलिएका उनको एक महिनाअघि चलचित्र पत्रकार संघको पहलमा उपचारको लागी सहयोग संकलन अभियान सुरु भएको थियो । उक्त अभियानबाट करिब ३० लाख रुपैँया रकम जम्मा भएको छ ।