काठमाडौ, बैशाख ६ – परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले भारतले राष्ट्रपति विद्या भण्डारीलाई उच्च सम्मान दिएको बताएका छन् । मन्त्री महतले भारतले राष्ट्रपति भवनमै राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’जस्तो उच्च सम्मान दिएको स्पष्ट पारे ।
राष्ट्रपति भण्डारी तथा भारतीय राष्ट्रपति/प्रधानमन्त्रीसहितको उच्च भेटवार्तामा सहभागी भई बुधबार स्वदेश फर्किएका महतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै भारतीय उच्च नेतृत्वले राष्ट्रपतिसँग सदभावनापूर्ण शिष्टाचार भेट गरेको बताए ।
मन्त्री महतले भारतको विमानस्थलमा राज्यमन्त्रीले राष्ट्रपतिलाई स्वागत गरेको विषयलाई लिएर अनावश्यक टिप्पणी नगर्न संचारकर्मीसँग आग्रह पनि गरे । उनले भारतीय राष्ट्रपति भवनमा दिइएको गार्ड अफ अनरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत पुरै समय सहभागी भएर उच्च सम्मान व्यक्त गर्नुले भ्रमण सफल भएको पनि बताए ।






