काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले दर्ता गर्न लागेको संविधान संशोधनको नयाँ प्रस्तावमा आफ्नो पार्टीसँग सहमति नभएको जनाएको छ ।
स्थायी समितिको सोमबारको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा एमाले नेतृत्वसँग समेत सहमति भएको भन्ने झुटो अभिव्यक्ति सार्वजनिक गरेको आरोप लगाएको छ ।
कार्यबाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा सम्पन्न बैठकले संशोधनमा सहमतिबारे फैलाउन खोजिएको भ्रममा नपर्नसमेत आमजनसमुदायलाई अपिल गरेको छ ।
‘एमालेको नेतृत्वसँग आजसम्म संविधान संशोधनका विषयमा विषयगत रूपमा कुनै गम्भीर र ठोस छलफल प्रधानमन्त्रीका तर्फबाट भएको छैन । तर, प्रधानमन्त्री स्वयंले एमाले नेतृत्वसँग समेत सहमति भएको भन्ने झुटो अभिव्यक्तिहरू सार्वजनिक गरिरहनु भएको छ,’ प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘हाम्रो पार्टी प्रधानमन्त्रीका उपरोक्त भनाइहरूको भ्रममा नपर्न आमजनसमुदायलाई अपिल गर्दछ ।’
जनआन्दोलनको मर्म र भावनाविरुद्ध संविधानको मर्म र भावनाविपरीत स्थानीय तह र प्रदेशका अधिकार कटौती गर्ने, सामाजिक सद्भाव र भौगोलिक एकतालाई कमजोर पार्ने कुनै पनि प्रस्तावप्रति पार्टीको समर्थन नरहने एमालेले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।






