हवाई कालोसूचीबाट हटाउन युरोपेली आयोगलाई नेपालको आधारपत्र हस्तान्तरण

काठमाडौं- युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ ।

नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड एयर सेफ्टी पूरा गर्न नसकेको कारण देखाउँदै युरोपली आकासमा लगाउँदै आएको प्रतिबन्ध हटाउन अनुरोध गर्दै परराष्ट्र सचिव शंकरदाश बैरागीले पर्यटन मन्त्रालयद्वारा उपलब्ध गराइएको सो आधारपत्र नेपालका लागि युरोपेली सङ्घकी राजदूत रेन्जे टिरिन्कलाई परराष्ट्र मन्त्रालयमा बुधबार हस्तान्तरण गरेका हुन् ।

परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले गत फागुनको पहिलो हप्ता गरेको ब्रसेल्स भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड युंकर र आयोगकी उपाध्यक्ष एवम् विदेश मामिला र सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडेरिका मोगरिनीसँग उक्त कालो सूचीको प्रावधान हटाउन अनुरोध गरेका थिए ।