नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार आएन, आज थाइल्याण्ड लगिने

काठमाडौं, फागुन १५ । बिरामी परेर केही दिनदेखि अस्पतालमा उपचाररत माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि थाइल्याण्ड लगिने भएको छ ।

नेता पुनलाई आज बैंकक लैजाने तयारी गरिएको छ । पुनसँगै उनकी पत्नी एवं सभामुख ओनसरी घर्तीमगर पनि बैंकक जाने बताइएको छ ।

ज्वरो आएर काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेपनि निको नभएपछि थप उपचारका लागि बैंककस्थित समितिभेज अस्पतालमा लैजान लागिएको हो ।

पार्टी कामको सिलसिलामा केही दिन अघि रोल्पा गएका नेता पुनलाई त्यहाँबाट फर्किएलगत्तैदेखि ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।

यसअघि पनि जण्डिस बिग्रिएपछि पुनलाई बैंकककै समितिभेज अस्पतालमा उपचार गरिएको थियो ।