काठमाडौँ, १३ फागुन । नयाँ शक्ति पार्टीले संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने गरेको छ ।
स्थानीय निकायको टुङ्गो नलागेको र सम्झौताअनुसार संविधान संशोधन पनि नभएको अवस्थामा निर्वाचन हुन नसक्ने पार्टीले जनाएको छ ।
पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खिमलाल देवकोटाले मुलुक संवेदनशील अवस्थामा रहेको भन्दै निर्वाचनको आधार तयार पार्न सरकारसँग माग गर्नुभयो ।
‘उहाँले संविधान संशोधन तथा स्थानीय निकायको टुङ्गो नलागी कसरी निर्वाचन हुन्छ ? भनी सरकारसँग प्रश्न गर्नुभयो ’। राजनीति अत्यन्त तरल अवस्थामा पुगेको भन्दै निर्वाचनको वातावरण बनाउनुपर्नेमा उहाँको जोड थियो ।
यसअघि नै सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले निर्वाचनका लागि उपयुक्त वातावरण सिर्जना नगरी निर्वाचनको मिति घोषणा गरिएकामा संयुक्त प्रेस विज्ञप्तिमार्फत विरोध जनाएका थिए ।
फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गरी संविधानका त्रुटिलाई सच्याएर मात्र निर्वाचनमा जानुपर्ने माग गर्नुभएको थियो ।






