लन्डन– परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले युरोपियन कमिसनका अध्यक्ष जीन क्लाउड जुकरसँग बेल्जियमको राजधानी ब्रसेल्समा भेट गरेका छन् ।
भेटका अवसरमा नेपालको विकास प्रयासमा यूरोपियन यूनियनले गरेको सहयोगको परराष्ट्रमन्त्री डा. महतले प्रशंसा गरेका थिए । यूरोपियन यूनियनको नेपाल मिसनद्वारा जारी विज्ञप्ति अनुसार पूर्वाधार निर्माण र सीप विकासको क्षेत्रमा सहायता बढाउन डा. महतले आग्रह गरेका छन् । उनले भुकम्पपछिको पुननिर्माणका लागि पनि थप सहयोग गर्न आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
युरोपियन कमिसनका अध्यक्ष जुकरले नेपाललाई सहयोग जारी रहने प्रतिवद्धता जनाउनुका साथै आग्रह गरिएका क्षेत्रमा सहायता तथा समन्वय वृद्धिका लागि इयुले विचार गर्ने बताए ।
परराष्ट्रमन्त्री महतले उड्ययन सुरक्षामा नेपालले गरेको प्रगतिलाई उद्वृत गर्दै नेपाली एयरलाइन्समाथि ईयूले लगाएको प्रतिवन्ध हटाउन अनुरोध गरेका थिए ।






