संसद् बैठक अवरुद्ध, आजै ४ बजे बस्ने

काठमाडौँ, १८ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आज पनि संसद् बैठक अवरुद्ध गरेको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाउनुभएको थियो । संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने माग राख्दै प्रतिपक्षी दलले मङ्सिर १६ गतेदेखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएका छन् ।

आज बैठक अवरोधबीच सभामुख ओनसरी घर्तीले नेकपा (माले)का सांसद कलम विश्वकर्मालाई बोेल्न समय दिनुुभयो । उहाँले सरकारले व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव संविधान विपरीत रहेको बताउनुभयो ।

उहाँले संशोधनमा अङ्गीकृत नागरिकताको प्रमाणपत्र दिनेलाई खुकुलो बनाउन, मातृभाषा नरहेको भाषालाई कामकाजी भाषा बनाउन खोजिएको आरोप लगाउँदै संशोधन प्रस्ताव राष्ट्रहित, एकता र सुरक्षाको पक्षमा नरहेको उल्लेख गर्नुभयो ।

सांसद विश्वकर्माले भन्नुभयो – “प्रस्तावित ५ नं प्रदेशबाट तराईलाई अलग गर्नु भनेको एक मधेस एक प्रदेशको अवधारणा लागू गर्न खोज्नु हो । सीमाङ्कनको फेरबदल गर्ने अधिकार वर्तमान सरकारसँग छैन ।”