नेपाललाई विश्व क्रिकेट लिग डिभिजन-२ मा पहिलो खेलमा निराशा हात लागेको छ । अन्तिम बलमा ३ रन बनाउनुपर्ने चुनौति पूरा गर्न नसक्दा नेपाल सजिलो प्रतिद्वन्द्वी मानिएको युगान्डासँग २ रनले पराजित भएको छ ।
१ सय ४७ रनको लक्ष्य पछ्याएको नेपाली टोली निर्धारित ५० ओभर खेलेर १ सय४४ रनमा अल आउट भयो । टस जितेर पहिलो ब्याटिङ रोजेको युगान्डालाई नेपाली बलरले निर्धारित ५० ओभरको १ बल अगाडि १ सय ४६ रनमा अलआउट गरेको थियो ।
सामान्य लक्ष्य लिएर ब्याटिङमा आएका नेपाली ब्याट्समान पनि युगान्डाका बलर अगाडि धेरै बेर टिक्न सकेनन् । सबैभन्दा बढी उपकप्तान ज्ञानेन्द्र मल्लले ३४ रन बनाए । सुवास खकुरेलले-३२ र नरेश बुढाऐर-१६ रन बनाएर क्रिजबाट बाहिरिए । अन्तिम बलमा आउट भएका बसन्त रेग्मी टिमका लागि १५ रन जोडे । कप्तान पारस खड्का, शरद भेस्वाकर र करन केसी ५-५ रन मात्र जोड्न सके । सोमपाल कामी-४ र बिनोद भण्डारी-१ रन र सागर पुन खाता नखोली आउट भए । नेपालले भोलि-आइतबार) नेदरल्याण्डसँग दोस्रो खेल खेल्ने छ ।






