लन्डन । सपन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको ‘यूके डान्स अफ’ नृत्यको विजेता जेनी सुनुवार भएकी छन् ।सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा आयोजित नृत्य प्रतियोगिता -१२ सय पाउण्ड नगदसहित प्रमाणपत्र र ट्रफी उचालेपछि खुशी व्यक्त गर्दै जेनीले आफ्ना अभिभावक, निर्णायक र आयोजकप्रति कृतज्ञता व्यक्त गरिन् । प्रतियोगितामा फस्ट रनरअप भइन् काजोल गुरुङ । उनले ८ सय पाउण्ड जितेकी छन् भने सेकेन्ड रनर अपको उपाधिमध्ये पहिलो पुनम गुरुङ र दोश्रो रिचा, नेहा र अन्जनाको समूहले जित्यो । 
पब्लिक च्वाइसमा पहिलो स्थान जेनी सुनुवार, दोश्रो काजोल गुरुङ र तेश्रो स्थान प्रतिष्ठा त्रिपाठीले सुरक्षित गरे । एकल र समूहमा आवद्ध कुल १४ प्रतिष्पर्धीले पहिलो चरणमा नेपाली मौलिक नाच र दोश्रोमा स्वेच्छाले विभिन्न नाच देखाएका थिए ।
सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए ।
सपन लिमिटेडकी निर्देशक मन्जु गुरुङ राईले स्वागत मन्तव्य दिइन् । प्रतियोगितामा प्रियंका, रिनासा, फिल्म निर्देशक मिलन चाम्स र आरजे सन्जय गुप्ता निर्णायक थिए । सरला थापा र सूर्य गुरुङले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रममा
आर के स्क्वायर ब्याण्डले आफ्नो गीत संगीत प्रस्तुत गरेको थियो । 
उक्त प्रतियोगितामा राजदूत सुवेदी, दूतावासका उपनियोग प्रमुख शरदराज आरन, सोलिसिटर राजु थापा, व्यवसायीहरु विराज भट्ट, वी पी खनाल, डा. कपिल रिजाल, कमल गुरुङ, सूर्जे (रामचन्द्र) गुरुङ, सूर्य गुरुङ लगायतले विजयीलाई पुरस्कार प्रदान गरेका थिए । नृत्य प्रतियोगितामा चर्चित नायिका प्रियंका कार्कीले विशेष प्रस्तुति दिएकी थिइन् ।






