औषधि पसलमा आगलागी

बैतडी- भौनेली गाविसमा रहेको धरमघर बजारमा आज साँझ आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भौनेली–८ धरमघर बजारमा रहेको केशवदत्त भट्टको औषधि पसलमा आज साँझ ७ बजेपछि भएको आगलागी कसरी भयो भनेर थाहा हुन नसकेको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले राससलाई जानकारी दिनुभयो ।

अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि दशरथचन्द नगरपालिकाको दमकल पठाइएको प्रहरीले बताएको छ । अहिले आगो प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा ल्याउने प्रयास गरिरहे पनि पसल पूर्ण रुपमा जलेर नष्ट भएको जनाइएको छ । रासस