प्राधिकरणको कामप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४५ दिनमा पुनर्निर्माण प्राधिकरणले गरेको कामप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

बुधबार बेलुका कामु मुख्यसचिव टंकमणि शर्मालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले ४५ दिनभित्र सबै भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउन नसक्नुको कारणबारे चासो राखे । उनले आइतबार बिहान १० बजे प्राधिकरण निर्देशक समितिको बैठक बोलाउन शर्मालाई निर्देशन दिएका छन् ।

‘भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने सरकारको घोषणा पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन, यसको समीक्षा हुन अत्यावश्यक छ, यसले मलाई निकै गम्भीर बनाएको छ,’ प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले निर्देशक समितिको बैठकमा अहिलेसम्मका कामको समीक्षा र पुनरावलोकन गरिने बताए । आवश्यक परे प्राधिकरणको संरचना, पदाधिकारी र कार्यप्रणाली बदलेरै भए पनि राहत र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउनु सरकारको कर्तव्य भएको उनले बताए ।

सरकारले पुनर्निर्माणमा खटाएका इन्जिनियरहरू सुविधा नपुगेको भन्दै आन्दोलनमा उत्रिएका छन् । इन्जिनियरहरूले वैशाखमा दिइएको नियुक्तिको म्याद असार मसान्तमा नै सकिएको भन्दै नयाँ नियुक्तिको मागसमेत गरेका छन् । यस्तै पुनर्निर्माण ऐनअनुसार तलब–भत्ता पाउनुपर्ने, बिमाको व्यवस्था हुनुपर्नेलगायतका माग उनीहरूले राखेका छन् । सरकारले पुनर्निर्माणको काम गर्न २५ सय ७५ प्राविधिकलाई अति प्रभावित ११ जिल्लामा खटाएको छ ।