कैदीबन्दीलाई खुवाउने चामल सकियो

जाजरकोट २ माघ । जाजरकोट जिल्ला कारागार शाखामा रहेका चार दर्जन कैदीबन्दीलाई खुवाउने चामलको अभाव भएको छ ।

Riceखाद्य संस्थानले कैदीबन्दीलाई खुवाउने अरुवा मोटो चामल ढुवानी नगर्दा अभाव भएको हो । अहिले जाजरकोट सदरमुकाममा रहेको गोदाममा तीन क्विन्टल अरुवा मोटो चामल मात्र मौज्दात रहेको छ ।

खाद्य कार्यालयले दिएको जानकारीअनुसार यो अरुवा मोटो चामल एक वर्ष पुरानो रहेको छ । यहाँका कैदीबन्दीलाई मासिक आठ क्विन्टल चामल आवश्यक पर्दछ । यहाँका कैदीबन्दीलाई निम्नस्तरको अरुवा मोटो चामल खुवाउने गरेको छ । कैदीबन्दीले आफूहरुलाई कुहिएको गुणस्तरहीन चामल खुवाएको आरोप लगाएका छन् ।

त्यस्तै नेपाल खाद्य संस्थानका ग्रामीणस्तरमा रहेका खाद्य डिपोमा आठ महिनादेखि खाद्यान्न ढुवानी हुन सकेको छैन । संस्थानका खलङ्गा, चौखा, नायकवाडा, घोगी र दशेरामा रहेका खाद्य डिपो आठ महिनादेखि चामलविहीन अवस्थामा रहेका हुन् ।

यी डिपोका लागि दुई पटकसम्म टेन्डर आह्वान गरिएको भए पनि नेपाल खाद्य संस्थानले स्वीकृति नगर्दा डिपो चामलविहीन भएका हुन् ।

टेन्डर स्वीकृत नहुनुका कारण थाहा नभएको शाखा कार्यालयका निमित्त प्रमुख रामप्रसाद पौडेलले बताए । कात्तिक महिनामा जिल्ला कार्यालयमा  पाँच सय ५० क्विन्टल चामल ढुवानी भएको थियो । सदरमुकामको डिपोमा चार हजार र ग्रामीणस्तरका डिपोमा प्रतिडिपो ८ सय क्विन्टल चामल दरले कोटा निर्धारण गरिएको छ ।

खाद्य संस्थानका चालम नभएपछि स्थानीय महँगो पैसा तिरेर बजारमा पाइने चामल खाना बाध्य भएको चौखाका प्रदीप मल्लले बताए । रासस