काठमाडौं – राजधानीको दुई स्कुलमा आज बिहान बम बिष्फोट भएको छ । जोरपाटीस्थित आकाशद्विप इंग्लिस बोर्डिङ स्कुल र मनकामना उमावि स्कुलमा बम बिष्फोट भएको हो ।
मंगलबार बिहान ५ बजेतिर उक्त स्कुलमा सिलिण्डर बम बिष्फोट गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रधुम्न कार्कीले जानकारी दिए ।
सो स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल केन्द्रीय समिति नामको संयुक्त पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
यसैगरी ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमी स्कुलमा पनि प्रेसर कुकर बम भेटिएको छ । रेडियन्ट रिडर्स एकेडेमी स्कुलको गेटमा नयाँ प्रेसर कुकर र तार भेटिएको हो ।
स्कुलमा कसले बम राख्यो भन्नेबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ । अहिले उक्त ठाउँ हुँदै चल्ने सवारी साधनहरु चल्न दिइएको छैन् । अहिले उक्त ठाउँमा बम डिस्पोजल टोलीलाई पनि खबर गरिसकेको छ ।
सो ठाउँमा पनि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल केन्द्रीय समिति नामको संयुक्त पर्चा भेटिएको छ । सो पर्चा सुमन देवकोटा पार्टीको रहेको अनुमान गरिएको छ ।
यसैबीच माउन्ट युराल रिडर्स एकेडेमी स्कुलमा भेटिएको सुतली बम सेनाको टोलीले डिस्पोज गरिएको बौद्व प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै राई स्कुल र डल्लुको कचंनजंघा स्कुलमा शंकास्पद वस्तु भेटिपछि सेनाको टोलीले डिस्पोजलको तयारी भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए ।






