काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पाको थवाङलाई नयाँ गाउँपालिकाको केन्द्र बनाउनका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।
रोल्पा थवाङका वामपन्थी अग्रज बर्मन बुढासहित १५ जनाको प्रतिनिधि टोलीसँग आज साँझ भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले स्थानीय तह पुनःसंरचना समितिले आफ्नो काम गरिरहेको अवस्थामा थवाङलाई नगरपालिकाको केन्द्र बनाउनेबारे दलहरूसँग छलफल गरेर टुङ्गोमा पु¥याउने बताउनुभयो ।
सो प्रतिनिधिमण्डलले रोल्पाका थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम गाविस मिलाएर एउटै गाउँपालिका बनाउन र त्यसको केन्द्र थवाङलाई बनाउन माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ ।
सो अवसरमा वामपन्थी अग्रज बुढाले तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्धको केन्द्र थवाङलाई थप परिचित बनाउनका लागि पनि नयाँ गाउँपालिकाको केन्द्र बनाउनुपर्छ भन्नुभयो ।






