गाउँपरिषदमा झड्प, १ को मृत्यु ८ घाइते

रौतहट– बारा जिल्लाको अमरपटी गाविसमा गाउँ परिषदका क्रममा विवाद भई झड्प हुँदा एक जनाको ज्यान गएको छ। आठ जना घाइते भएका छन्।
अमरपटी गाविसमा यस वर्षको विकास निर्माण योजना छनोट गर्ने बसेको गाउँपरिषदमा दुई पक्षबीच विवाद भई झड्प हुँदा वडा नम्बर ७ का ३८ वर्षीय अवतारप्रसाद यादवको ज्यान गएको हो। स्थानीय राजाप्रसाद यादव, जितेन्द्रप्रसाद यादव, मदन यादव, सन्तोष यादव, रामनारायण यादव, रामपुकार यादवलगायत आठ जना घाइते भएको बारा प्रहरीले जनाएको छ।गाउँपरिषदका लागि मंगलबारै गाउँले भेला भए पनि विकास निर्माण गर्ने कार्यमा विवाद भएपछि परिषद् बुधबार गर्ने सहमतिमा स्थगित भएको थियो। दिउसो १२ बजेदेखि सुचारु भएको भेला कुनै निष्कर्षमा पुग्न नसकी झड्पमा परिणत भएको प्रहरीको भनाइ छ।
गाउँमा झडप भइरहेको सूचना प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी परिचालन गरी झड्पलाई नियन्त्रणमा लिएर घाइतेलाई उद्धार गरी उपचारका लागि नेसनल मेडिकल कलेज वीरगन्ज पठाइएको नारायणी अञ्चलका वरिष्ठ प्रहरी उपरीक्षक मनोज न्यौपानेले बताए। उनका अनुसार झड्पमा गम्भीर चोट लागेका अवतारको दिउसो साढे ४ बजे ज्यान गएको हो। झड्पमा संलग्न रहेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएर घटनाबारे छानबिन सुरु गरिएको उनले जनाए।