लन्डन– बेलायतमा क्रियाशील ६ जना पत्रकार सम्मानित भएका छन् ।
ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले लन्डनमा आइतबार आयोजित एक कार्यक्रमबीच पत्रकारहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष एवं वीनेपाली डटकमका सम्पादक नरेश खपांगीमगर र कान्तिपुर दैनिकका बेलायत संवाददाता एवं वीनेपालीडटकमका प्रधान सम्पादक नवीन पोखरेललाई लेखनतर्फ र के के मूभिज तथा कान्तिपुर टिभीका लागि कार्यरत सञ्चारकर्मी कुशल श्रेष्ठलाई भिज्यूअलतर्फ जर्नालिष्ट अफ दि इयर २०१५ अवार्ड प्रदान गरेको हो ।
त्यसैगरि, संस्थाले लन्डन नेपाल न्यूज डटकमका प्रधान सम्पादक शिव भण्डारी र फोटो पत्रकार एभरेष्ट गौतमलाई कमेन्डेड जर्नालिष्ट अफ दि इयर २०१५ अवार्ड प्रदान गर्यो भने विद्यार्थी अभियन्ता गणेश खड्कालाई राइजिङ स्टार अवार्ड २०१५ प्रदान गरिएको छ ।
लोटस क्लव उलवीचमा आयोजित समारोहका प्रमुख अतिथि एनआरएनए युरोप संयोजक कुल आचार्य र काउन्सिलका अध्यक्ष एकराज नेम्वाङले पत्रकारहरुलाई अवार्ड र मायाको चिनो प्रदान गरे ।
उक्त अवसरमा आचार्य र नेम्वाङले दर्पणसंसारडटकम नामक न्यूज पोर्टलको समेत शुभारम्भ गरेका छन् । उक्त पोर्टलका प्रधान सम्पादक सन्जयभक्त कँडेल हुन् ।
यसैबीच, उक्त सनराइज समर धमाकामा बेली डान्सर एवं गायिका प्रिती आले, नायिका नितु पोखरेल, गायकहरु रामजी खांड र थानेश्वर गौतमले आ आफ्नो प्रस्तुति दिए । मन्जु भण्डारी खरेलले सञ्चालन गरेको उक्त सांस्कृतिक कार्यक्रम प्रकाशराज कँडेलले आयोजना गरेका हुन् ।
कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष दासुराम पाण्डे, सचिव एवं पत्रकार फडिन्द्र भट्टराई, युवा संयोजक हरि आचार्य, सहकोषाध्यक्ष ललित न्यौपाने, एनआरएनए यूके पूर्व अध्यक्ष महेन्द्र कँडेल, नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि एवं व्यवसायी पशुपति भण्डारी, व्यवसायीहरु कर्ण शाही, विनोद ज्ञवाली, सुरज केसी लगायत सहभागी थिए ।






