मोर्चासँग सहमति भए, बुधबार सहमति हुने दाबी

nc morchaकाठमाडौं- नेपाली कांग्रेस नेकपा (माओवादी केन्द्र) र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठनलगायत विषयमा बुधबार बिहान निर्णायक छलफल हुने भएको छ ।

तीनपक्षबाट गठित कार्यदलबीच मंगलबार साँझसम्म भएको वार्तामा मस्यौदाको अधिकांश बुँदामा सहमति भएको र बुधबार बिहान शीर्ष नेताको उपस्थितिमा अन्तिम टुङ्गो लगाइने कार्यदलका सदस्य एवम् कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

मोर्चाका तर्फबाट कार्यदलका सदस्य एवम् सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पनि सहमतिको खाका तयार भएको र केही शब्दावलीमा छलफल जारी रहेको बताए । तीन पक्षबीच कुरा नमिलेको भन्ने प्रचार गलत भएको र बुधबार बिहान सहमतिमा हस्ताक्षर हुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।