‘मिस यू अल’ भन्दै बिदाइमा भक्कानिए कार्यवाहक राजदूत क्षेत्री

  • tej4

     शिव भण्डारी,
    लन्डन । आफ्नो चार वर्षे कार्यकाल सकेर यही जुलाई १ मा स्वदेश फर्कंदैछन् कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री । नेपाल जानुअघि बुधबार सांझ दूतावासमा आयोजित विदाइ कार्यक्रम ज्यादै भावुक बन्यो । कतिका आंखा रसाए भने क्षेत्री आफैं पनि भक्कानिए । ‘तपाईंहरुको असिम माया लिएर फर्कनुपर्दा मनमा नरमाइलो लागेको छ’, क्षेत्रीले कार्यक्रममा भने, ‘भाग्यले साथ दिए फेरि भेटौंला । म जहां भएपनि तपाईंहरुलाई सहयोग गरि नै रहनेछु ।’ वक्ताहरु पनि बडो भावुक बने । ‘स्वागत भन्दा जति उत्साह र उमंग हुन्छ, विदाइ भनेपछि अलिक नराम्रो लाग्ने रहेछ’, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) ले बुधबार सांझ दूतावासमा भने, ‘क्षेत्रीजीले चार वर्ष बेलायत रहंदा नेपाली समुदायलाई लगाएको गुन र दूतावासको भौतिक संरचना परिवर्तनले उहां सधैं हाम्रो मानसपटलमा रहिरहनुहुनेछ ।’

    सन् २०१२ अप्रिलमा डेपुटी चिफ अफ मिसनका रुपमा लन्डन दूतावास आएका क्षेत्रीले दुई वर्ष भन्दा बढि समय कार्यवहाक राजदूतका रुपमा बिताएका थिए । यस अवधिमा क्षेत्रीले धेरै उल्लेख्य काम गरेका छन् । आफ्नो प्रिजेन्टेसनका क्रममा क्षेत्रीले महाभूकम्पका बेला दूतावासमार्फत करिब ७ करोड रुपैयां नेपाल पठाउन सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गरे । उनले कुटनीतिक क्षेत्रमा आफ्नो पहल, एमआरपी बनाउन चालिएको घर दैलो अभियान, दूतावासको मर्मत सम्भार, स्थानीय समुदायसंग समायोजन, पर्यटन प्रवर्धन आदिमा सक्दो योगदान गरेको पनि बताए । ‘काम गर्ने क्रममा केही त्रुटी भए माफ दिनुहुनेछ’, उनले भने । क्षेत्रीले बेलायत र नेपाल दुवैबाट भएका उच्चस्तरिय भ्रमणमा दूतावासको संलग्नताबारे पनि अवगत गराए ।tej2

    कार्यक्रममा क्षेत्रीको जिम्मेवारी सम्हाल्न आएका शरदराज आरनले पनि मन्तव्य दिए । उनले आफ्नो कार्यकालमा नेपाली डायस्पोराबाट उल्लेख्य सहयोग, सुझाव र मार्गदर्शन पाउने आशा व्यक्त गर्दै नेपाली समुदायको हितका लागि आफू सधैं कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गरे । एट्याची तेजेन्द्र रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले क्षेत्रीले नेपाली समुदायमा गरेको योगदानको चर्चा गरेका थिए ।

    एनआरएनए यूके कोषाध्यक्ष, कपिलवस्तु समाज यूकेका अध्यक्ष र जुलाइ १९ मा लर्डसमा हुन लागेको नेपाली क्रिकेट टिम र एमसीसी बीचको मैत्रीपूर्ण खेल आयोजक समितिका आर्थिक संयोजक दीपक श्रेष्ठले खेल र अर्थ संकलनको विवरण दिए । उनले राष्ट्रको इज्जतसंग जोडिएको खेल सफल बनाउन सबैमा आग्रह समेत गरे । बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका करिब डेढसय सहभागी उक्त कार्यक्रममा लोकगायक गायिका बमबहादुर कार्की र शिवा आलेले पानको पात….मा दर्शक नचाए ।tej 1