नवलपरासी, ६ असार । नवलपरासीमा आजदेखि सुरु हुन लागेको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा भाग लिन स्वदेशीदेखि विदेशसम्मका पाहुना आउँदै छन् ।
बिहान ११ बजेबाट सुरु हुने भनिएको उद्घाटन शत्रमा भाग लिन विभिन्न देशबाट राजनीतिक दलका नेता, युरोपियन युनियनका केही देशका प्रतिनिधि र कूटनीतिक नियोगका पाहुन आउने कार्यक्रम रहेको तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले बताउनुभयो ।
महाधिवेशनको उद्घाटन शत्रमा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासमेत आउने कार्यक्रम पक्का भएको आयोजक जिल्ला तमलोपा नवलपरासीका उपाध्यक्ष पुरन चौधरीले बताउनुभयो ।
यसबाहेक अन्य दलका शीर्ष नेतालाई पनि पत्राचार गरिएको छ । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उद्घाटन शत्र चल्ने छ । महाधिवेशनको उद्घाटन शत्र जिल्लाको सदरमुकाम परासीस्थित आर्दश उच्च माविको प्राङ्गणमा हुनेछ भने बन्द शत्र पनि सोही स्थानमा हुने पार्टीले जनाएको छ ।
तमलोपाको महाधिवेशन नजिकिँदै जाँदा जिल्लामा शान्ति सुरक्षासमेत कडा बनाइएको छ । महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक आउने छन् ।






