काठमाडौं- विश्व क्रिकेट लिग अन्तर्गतको खेलमा नामिबियालाई पराजित गरेको नेपाल अंक तालिकाको दुई स्थान माथि उक्लेको छ ।
यसअघिका चारवटै खेलमा नेपालले पराजय भोगेको थियो । आठ देशको समुहमा नेपाल सबैभन्दा पुछारमा थियो । हिजोको खेलपछि नेपालले युएई र नामिबियालाई उछिन्दै छैटौं स्थानमा उक्लिएको हो । २०१७ को मध्यसम्म चल्ने च्याम्पियनसिपका शीर्ष चार टोली २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोटमा पुग्नेछन् ।
कठिन स्थितिमा रहेको नेपाललाई जिताउन हिजोको खेलमा शरद भेषावकर र विनोद भण्डारीले महत्वपुर्ण भुमिका खेले । शरदले विनोद भण्डारीसँग ८४ रनको अविजित साझेदारी गरेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले विजय हात पारेको थियो । सानदार बलिङ तथा शरद भेषावकर र विनोद भण्डारीको उत्कृष्ट ब्याटिङपछि नेपालले शनिबार नामिबियामाथि ५ विकेटको विजय हात पार्यो ।






