काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको तयारी थालेको छ ।
नाकाबन्दीसहितका कडा आन्दोलन निस्तेज भएपछि मोर्चाले पुनः अर्को चरणको आन्दोलनको तयारी गरेको हो । मोर्चाको लगातार बसेको बैठकले आन्दोलनको स्वरुपबारे गृहकार्य गरिरहेको छ ।
स्रोतका अनुसार तत्काल मधेसमा कुनैप्रकारको बन्द हड्ताल नगर्ने मनस्थितिमा मोर्चाका नेताहरु छन् । काठमाडौं केन्द्रित आन्दोलन गर्ने र यहाँ भएको धरपकडलाई लिएर मधेस तताउने रणनीति मोर्चाको छ ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनमा कुनै पनि नाकाबन्दीका कार्यक्रम नहुने प्रष्ट पारे । उनले विगतको नाकाबन्दीको आन्दोलनबाट कुनै परिणाम नआएको र सरकारलेभन्दा पनि जनताले सास्ती पाएको उल्लेख गर्दै वैशाख ६ गतेबाट हुने आन्दोलन कुनैपनि किसिमको नाकाबन्दी कार्यक्रम नहुने बताएका हुन् । उनले भने, ‘अब हामी नाकाबन्दी र जनतालाई दुःख दिने काम गर्दैनौं, आन्दोलन सिंहदरबार केन्द्रित हुन्छ, यो आन्दोलन कसैको विरुद्धमा होइन, अधिकारप्राप्तिको लागि हो ।’
अध्यक्ष महतोले विगतमा मधेस केन्द्रित आन्दोलन गर्दा आफूहरुलाई गलत आक्षेप लगाएको उल्लेख गर्दै अबको आन्दोलन सिंहदरबार केन्द्रित रहेर देशव्यापी रुपमा सशक्त बनाउने बताए । उनले भने,’अबको आन्दोलन जनता कम प्रभावित हुने र सरकारलाई अधिकतम दबाब पुग्ने खालको हुन्छ ।’






