काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोटको दसेरालगायतका गाविसमा आइतबारदेखि देखिएको झाडाबान्ताले महामारीको रुप लिने सम्भावना देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
आज एक पे्रस विज्ञप्ति जारी गर्दै आयोगले झाडाबान्तासम्बन्धी सञ्चारमाध्यममा समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
झाडाबान्ताको समस्याबाट दसेरा गाविसमा मात्र ४० जनाभन्दा बढी बिरामी परेको र अधिकांश बिरामी एसएलसी दिँदै गरेका विद्यार्थी, केन्द्राध्यक्ष र निरीक्षक रहेकाले बिरामीको तत्काल उपचार गर्न सरकारलाई अनुरोध गरिएको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गर्नु भएको विज्ञप्तिमा बिरामीको तत्काल उपचार सुरु गर्न तथा सङ्ख्या थप बढ्न नदिन स्वास्थ्यकर्मीको टोली यथाशीघ्र प्रकोप स्थलमा खटाउन एवम् एसएलसी परीक्षा दिइरहेका विद्यार्थीको स्वास्थ्यप्रति विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको छ ।






