भक्तपुर- उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले नयाँ संविधानमा जग्गेबाटै अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिनु गलत भएको बताउनुभएको छ ।
फत् सञ्चार क्लबले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको कम्तीमा पनि सात वर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिने व्यवस्था हुनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “विवाह गरेकै दिन जग्गेबाटै अङ्गीकृत नागरिकता पाउने व्यवस्था संविधानले गर्नु गलत छ, यसले विदेशी नागरिकको सङ्ख्या बढ्ने र राष्ट्रियता माथि सङ्कट आउन सक्छ ।” देशलाई खण्डखण्ड पार्न विदेशीको चलखेल बढिरहेका अवस्थामा यसप्रकारको नागरिकताले थप सङ्कट पार्नसक्नेतर्फ सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
उपप्रधानमन्त्री केसीले विदेशमा रहेका नेपाली नागरिकले मताधिकारको व्यवस्था संविधानमा हुन नसक्नु दुःखद भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “देशमा रोजगार नपाएर विदेश जान बाध्य नागरिकलाई मताधिकारको व्यवस्था हुनुपर्छ, उनीहरुले कमाएर पठाएको पैसा देशलाई मान्य हुने तर मत मान्य नहुने यो कस्तो व्यवस्था, यो त्रुटीलाई संविधानमा सच्याउनुपर्छ ।”






