महोत्तरी- घटनाको करिब पाँच महिनापछि सशस्त्र प्रहरीका असई थमन विश्वकर्माको हत्यामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलेश्वर २ का ३० वर्षीय प्रदीप साह, ३ का २५ वर्षीय सञ्जयकुमार साह र १७ फूलहट्टा परिकौलीका २५ वर्षीय मोहन ठाकुर छन् ।
जिल्ला प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । तीनै जनालाई जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले जनाए ।
मधेस आन्दोलन चलिरहेका बेला गत भदौ २५ मा हेटौंडामा मिसनको परीक्षा दिएर जलेश्वरस्थित सशस्त्र प्रहरीको जिल्ला कमान्डमा फर्कंदै गरेका विकलाई शंकर चोक नजिक १५/२० जनाको संख्यामा रहेका समूहले कब्जामा लिएर निर्घात कुटपिट गरेर हत्या गरेको प्रहरीको आरोप छ ।






