काठमाडौं- सरकारले भारतीय सरकारी निकाय इन्डियन आयल कर्पाेरेसन (आइओसी) लाई दिँदै आएको पेट्रोलियम निर्यात एकाधिकार तोड्दै तेल आयातका लागि ग्लोबल टेन्डर खोल्ने भएको छ। भारतले ‘असुरक्षा’ का नाममा नाकाबन्दी लगाउँदा पेट्रोलियम अभाव चर्किएपछि सरकारले वैकल्पिक व्यवस्था गर्न एउटा देशमाथिको निर्भरता तोड्न लागेको हो।
त्यसका लागि नेपाल आयल निगमले बिहीबार सार्वजनिक सूचना जारी गरी तेल निर्यातकर्तालाई आह्वान गर्दैछ। त्यसका लागि निगमले आन्तरिक गृहकार्य पूरा गरिसकेको छ। बुधबारै सूचना जारी गर्ने गरी काम गरिए पनि नभ्याइएकाले बिहीबार सूचना निकाल्ने तयारी भएको गरेको हो।
भारतले १४ दिनदेखि पेट्रोलियम पदार्थ आपूर्ति ठप्प पारेपछि विकल्प खोज्दै सूचना निकाल्ने भएको हो। ‘विश्वका कुन देशले हामीलाई तेल उपलब्ध गराउन सक्छ, त्यसको खोजीसहित सूचना निकाल्न लागेको हो,’ स्रोतले भन्यो।
भारतको अघोषित नाकाबन्दीले आजित जनताले दसैंमा राम्रोसँग घर जान पाउने गरी काम हुने स्रोतको भनाइ छ। ‘सूचना निस्केपछि विश्वका तेल निर्यातकर्ताले आवेदन हाल्छन्,’ स्रोतले भन्यो, ‘त्यसलाई जतिसक्दो चाँडो छानेर निर्यातका लागि स्वीकृति प्रदान गछर्ौं।’
वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका उच्च अधिकारीलाई निगममै बोलाएर तत्काल विकल्प अगाडि ल्याउन निर्देशन दिएको हो। सोहीअनुरुप निगमले सूचना निकाल्न लागेको स्रोतको दाबी छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई तत्काल पेट्रोलियम पदार्थको विकल्प सोच्ने जिम्मेवारी दिएको थियो। त्यहीअनुसार मन्त्री थापाले निगमलाई स्पष्ट खाका ल्याउन निर्देशन दिएको हो।
मन्त्रालयस्रोतका अनुसार तत्काल भारतबाट तेल आउने छाँट नदेखिएपछि निगमले तेल आयात गर्न कम्पनी छनोटका लागि सूचना निकाल्ने तयारी थालेको हो। निगमका अनुसार दसैंतिहारमा काठमाडौंबाट बाहिरिने लामो दुरीका यातायातलाई तेल अभाव हुन नदिने बताएको छ।
निगमले जहाजबाट तेल ल्याएर भए पनि लामो तथा छोटो दुरीका यातायातलाई तेल दिने बताएको हो। त्यसका लागि जहाजबाट इन्धन ल्याउने तयारीमा जुटेको छ। ‘दसैंतिहार नजिकिएकाले सार्वजनिक सेवा र सवारीलाई समस्या हुँदैन,’ स्रोतले भन्यो, ‘निगमले जुनसुकै विकल्प अपनाएर भए पनि तेल उपलब्ध गराउँछ।’
इन्धनको हाहाकार रोक्न तत्काल हवाइजहाजबाट र दीर्घकालीन रुपमा वैकल्पिक आपूर्तिकर्ता खोज्न सूचना निकाल्ने तयारी गरिएको हो। आपूर्तिमा समस्या हुन थालेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १४ गते आयल निगमलाई वैकल्पिक मार्ग पहिचान गर्न निर्देशन दिएको थियो। ‘अभाव तत्काल रोक्न वैकल्पिक उपायबाट आयात गरी लागत खर्च जोडेर मूल्य बिक्री गर्न निगमलाई निर्देशन दिइसकेका छौं,’ मन्त्रालयस्रोतले भन्यो।
कामु आपूर्ति सचिव जीवराज कोइरालाले वैकल्पिक आपूर्तिबारे योजना ल्याउन निर्देशन दिइएको बताए। ‘मन्त्रालयले नेपाल आयल निगमलाई तेल कसरी आपूर्ति गर्न सकिन्छ, त्यसको योजना बनाएर पेस गर्न निर्देशन दिइसकेको छ,’ उनले नागरिकसँग भने।
निगमका अनुसार अहिले साढे ५ सय बुलेटबाट ग्यास आयात गरिन्छ। ती बुलेट सबै भारतका हुन्। १ हजार ४ सय ८० ट्यांकरबाट पेट्रोल र डिजेल र मट्टीतेल ढुवानी हुन्छ। ट्यांकरहरु नेपाली भए पनि ती ट्यांकरबाट उत्तरी नाकाबाट इन्धन ल्याउन धेरै कठिनाइ हुन्छ। लामो दुरी त्यसमा पनि पहाडको बाटो भएकाले ट्यांकरबाट तत्कालका लागि समस्या हुने निगमको भनाई छ। आपूर्ति व्यवस्था सहज बनाउन सरकारले कुटनीतिक पहल गर्नुपर्ने निगमको भनाई छ।
आपूर्ति सहज बनाउने जिम्मा निगमको मात्रै नभइ सबै मन्त्रालयको हो। निगमलाई जिम्मेवारी दिएर मन्त्रालय आफू पन्छिन खोजेको छ,’ निगमस्रोतले भन्यो, ‘सरकारले कूटनीतिक पहलबाट गाँठो फुकाउनु जरुरी छ। आपूर्ति सहज बनाउन प्रयत्न गर्नुपर्छ।’ निगमले निर्णय गरे पनि कूटनीतिक पहल नहुँदा आयातमा समस्या हुने ती अधिकारीको भनाइ छ।
यता, मन्त्रालयले भने आफ्नो तहबाट कूटनीतिक पहल गरिरहेको जनाएको छ। ‘मन्त्रालयका तर्फबाट गर्नुपर्ने पहल भइरहेको छ। निगमलाई सदैव सहयोग गर्दै आएका छौं, गर्नेछौं,’ कोइरालाले भने। निगमले जिम्मेवारीअनुसार काम नगरेकाले समस्या भएको मन्त्रालयको भनाइ छ।






