चिसोले कठ्याङ्ग्रिएर ६ को मृत्यु

रौतहट र पाल्पा जिल्लामा चिसोले ६ जनाको मृत्यु भएको छ । रौतहटको सङ्ग्रामपुर गाविसमा गएराति चिसोले कठ्याङ्ग्रिएर तीनजनाको मृत्यु भएको हो भने पाल्पामा चिसोमा रातभर कठ्याङ्ग्रिएर ३ जनाको ज्यान गएको बताइएको छ । ज्यान जानेमा रामपुर नगरपालिका विजयपुरका २७ वर्षीय जिता घर्ती, रामपुर फोक्सिङ्कोटका ६३ वर्षीय सुमित्रा वाग्ले र साँखर स्याङ्जाका ५५ वर्षीय दलबहादुर मल्ल रहेका छन् ।
रौतहटमा मृत्यु हुनेमा सङ्ग्रामपुर–९ बस्ने ४५ वर्षीय रामनाथ पासवान, सोही गाविस–७ का ५५ वर्षीय अनती भगत राउत र सङ्ग्रामपुर गाविस–१ कै ५० वर्षीय चतुर्गणराय यादव रहेको थाहा भएको छ । चिसो बढेका कारण रौतहटमा सर्वसाधारणको ज्यान जानेक्रम सुरु भएको छ ।
चिसोका कारण गत दुई हप्ताको अवधिमा नौजनाको मृत्यु भएको गाविसका पूर्व अध्यक्ष किशोरी पटेलले बताउनुभयो । श्वासप्रश्वासका रोगी तथा वृद्धवृद्धाको मुटुको भल्भमा समस्या हुने र अत्यधिक चिसोका कारण रगत जमेर मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।