दलहरु सीमांकनमा सहमति जुटाउन असफल

Senior leaders of major political parties during a meeting of the Political Dialogue and Consensus Committee (PDCC) under the Legislature Parliament chair by Dr Baburam Bhattarai held on Sunday at Singha Durbar, Kathmandu. Photo: Kumar Shrestha, RSS

काठमाडौं, २२ साउन । संविधानसभा, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले आज पनि नेपालको संविधान, २०७२ (प्रारम्भिक मस्यौदा) मा जनताले दिएका सुझावका आधारमा प्रतिवेदन तयार गर्ने काम पूरा गर्न सकेन । गत सातादेखि प्रमुख दलका शीर्ष र कार्यदलस्तरमा औपचारिक र अनौपचारिक छलफल जारी रहे पनि सङ्घीयताको सीमाङ्कनका विषयमा सहमति नहुँदा आजको संविधानसभाको बैठक कार्यसूचीविहीन बनेपछि भोलिका लागि स्थगन भएको छ । संवाद समितिले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापतिसहित चार दलका शीर्ष नेता सम्मिलित विशेष समितिसँग आज पनि दिनभर छलफल गरेको थियो । यसबीचमा नेताका बीचमा आन्तरिक (पार्टीगत) र द्विपक्षीय भेटवार्ता पनि भएका थिए ।
आज अपराह्न १ बजेका लागि डाकिएको संवाद समितिको बैठक साँझ ५ बजे बसी शनिबार पुनः अपराह्न १ बजे अर्काे बैठक बस्ने तय गरी सकिएको छ । समितिमा सभापति डा बाबुराम भट्टराईले हालसम्मका प्रयासबारे जानकारी गराउँदै एक दिनको समय थप माग गर्नुभएको थियो ।
“पटक पटक प्रयास हुँदा पनि सहमति भएको छैन तर हामीले आशा मार्नु हुँदैन”, डा भट्टराईले पत्रकारसँग भन्नुभयो, “रातभरि बत्ती बालेर विद्यार्थीले परीक्षामा तयारी गर्दा पनि उसले परीक्षामा राम्रो नतिजा नल्याए के काम भनेजस्तै भएको छ, हामीले सफलता हात लगाइसकेका छैनाँै, सकेसम्म हामी उत्तीर्ण हुने कोसिस गरिरहेका छौँ ।” उहाँले अगाडि भन्नुभयो, “कतिपय राजनीतिक विषय पेचिलो र गम्भीर हुँदो रहेछ तर हामीले आशा मार्नु हुँदैन ।”

संविधान बन्छ ः प्रम
प्रधानमन्त्री सुशील कोइरालाले पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै संविधान चाँडै बन्ने दोहो-याउनुभएको छ । उहाँले भन्नुभयो, “संविधान बन्छ, हामी सफल हुन्छौँ ।” नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नयाँ संविधानको प्रस्तावनादेखि अनुसूचीसम्म छलफल जारी रहेको र सङ्घीयताको सीमाका विषयमा सहमति जुट्न बाँकी रहेको बताउनुभयो ।