संविधानमा धर्मनिरपेक्षता हट्नुपर्छ : डा शशाङ्क

पोखरा, १२ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् डा शशाङ्क कोइरालाले नयाँ बन्ने संविधानमा धर्मनिरपेक्षताको शब्द हट्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस पोखरा नगर समितिले नेपाली काँग्रेसका योद्धाहरुको सम्मान र १३औँ महाधिवेशनको सन्दर्भमा प्रकाशित सङ्कल्प पत्रिकाको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा धर्मनिरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रता राखिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसको झन्डामा रहेका चार तारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रता भएको उल्लेख गर्दै काँग्रेस नेता डा कोइरालाले धर्म र राष्ट्रियतालाई कहिल्यै पनि राजनीति गरिनुहुँदैन भन्नुभयो । नेपाली काँग्रेसलाई सधैँ उँचो राख्ने एउटै उद्देश्य रहेको धारणा राख्दै उहाँले पार्टीमा गुट उपगुट भएकोमा भने चिन्ता व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा उहाँले पोखरा उपमहानगरपालिकाको वडा नं १९ देखि २८ वडाका ज्येष्ठ पार्टी कार्यकर्ताहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो । उक्त अवसरमा नेपाल प्रेस युनियनद्वारा स्थापित पत्रकार कल्याणकारी कोषमा माया बराल र चिनु रानाभाटले जनही रु २५, ५५५ सहयोग गर्नुभएको थियो । पार्टीको नगरसमितिका अध्यक्ष विष्णुहरि बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सभासद् विन्दा राना, महासमितिका सदस्य सोभियतबहादुर अधिकारीलगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो ।