नेपालिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलियाको अध्यक्षमा मुक्तिराम पोखरेल चयन

सिड्नी । नेपालिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलिया  को दोस्रो वार्षिक साधारण सभा शनिबार, ३१ जनवरी २०२६ मा मेरिल्याण्ड्सस्थित एनआरएनए कार्यालयमा सम्पन्न भएको छ।एसोसिएसनकी अध्यक्ष रञ्जिता भण्डारीको अध्यक्षता तथा न्यु साउथ वेल्सका अवैतनिक वाणिज्यदूत सञ्जिव कुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम सल्लाहकार सूर्य गौतमको सञ्चालनमा भएको थियो।

कार्यक्रममा “रक्तदान जीवनदान” भन्ने भावनालाई आत्मसात् गर्दै हालसम्म रक्तदानमा योगदान पुर्‍याएका भेषबहादुर थापा, अमेध थापा, विशाल भण्डारी, कमल चापागाईं, सबिना बस्याल, प्रकाश पन्थी, उमनाथ सुवेदी, मुक्तिराम पोखरेल, सरोज पाण्डेलगायतलाई प्रमुख अतिथि शर्माले प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका थिए। अवसरमा वाणिज्यदूत शर्माले NBDA ले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आफ्नो धारणा राखेका थिए।कार्यक्रममा संस्थाका संरक्षक विनोद मैनाली, सल्लाहकार तथा एनआरएनए ओसियानिया संयोजक दिनेश पोखरेल, फेन्का न्यु साउथ वेल्सका कोअर्डिनेटर मुक्तिराम पोखरेल, समाजसेवी सूर्य गौतम, आरएसएनका सचिव कमल चापागाईं, पत्रकार डा. राजु मानन्धर, एनआरएनए एनएसडब्लु सचिव प्रताप पन्थीलगायतले रक्तदान जस्तो मानवीय सेवाले जीवन रक्षा गर्ने पुण्य कार्य भएको उल्लेख गर्दै धारणा व्यक्त गरेका थिए।

साधारण सभाबाट सर्वसम्मत रूपमा आगामी दुई वर्षे कार्यकाल (२०२६–२०२८) का लागि मुक्तिराम पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा चन्द्र ढकाल, सचिवमा प्रशन्ना दाहाल र कोषाध्यक्षमा सबिना बस्याल चयन भएका छन्। यस्तै कार्यकारी सदस्यहरूमा अनिश मिश्र, नवीन गौतम, प्रह्लाद चापागाईं, रस्ना पालाञ्चोके, सुर्योतम दाहाल, रमेश सापकोटा, शंकरप्रसाद शर्मा, जमुना रोका र सरोज पाण्डे रहेका छन्। अन्य राज्यका समिति भने पछि गठन गर्ने निर्णय गरिएको छ।

संस्थाका संरक्षक  का रूपमा विनोद मैनाली, भूपाल सिटौला र रञ्जिता भण्डारी नियुक्त भएका छन् भने सल्लाहकारहरूमा सूर्य गौतम, दिनेश पोखरेल, डा. मधु पुडासैनी, डा. राजु मानन्धर, उषा किरण वरिया पोखरेल र भुवन पाण्डे चयन भएका छन्।कार्यक्रममा NBDA का स्तम्भ तथा अग्रणी रक्तदान अभियानकर्ता विनोद मैनालीले रक्तदानले आत्मसन्तुष्टि, सामाजिक सम्मान र सबैभन्दा महत्वपूर्ण जीवन रक्षा गर्ने कार्य हुने उल्लेख गर्दै स्वस्थ व्यक्तिले रक्तदान गर्दा स्वास्थ्यमा नकारात्मक असर नपर्ने, बरु सकारात्मक प्रभाव पर्ने बताएका थिए।निवर्तमान अध्यक्ष रञ्जिता भण्डारीले आफ्नो कार्यकालभरि सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै NBDA ले गरेका गतिविधि र उपलब्धिको संक्षिप्त प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

नव-निर्वाचित अध्यक्ष मुक्तिराम पोखरेलले अध्यक्षीय मन्तव्य दिँदै संस्थाप्रति व्यक्त गरिएको विश्वासका लागि आभार व्यक्त गरे। उनले सामूहिक नेतृत्वमार्फत NBDA लाई अझ सशक्त बनाउँदै विभिन्न समुदाय र संघसंस्थासँग सहकार्य गरी रक्तदान अभियानलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा विभिन्न सामुदायिक संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, रक्तदाता तथा सञ्चारकर्मीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *