लन्डनमा पत्रकार पुरुषोत्तम ढकालका भगवानलाई प्रश्न सहित ३ कृति सार्वजनिक

लन्डन – अमेरिकास्थित संचारकर्मी पुरुषोत्तम ढकालका तीन ओटा कृतिहरु एउटा समारोहमा सार्वजनिकीकरण गरिएको छ।  

आइतबार साउथ ह्यारोमा आयोजित एक कार्यक्रममा पुरुषोत्तम ढकालका कविता संग्रहहरु ‘भगवानलाई प्रश्न,’ ‘बर्डरलेस ड्रिम्स’ तथा म्युजिक भिडियो ‘मन मनमा नेपाली’ को वरिष्ठ साहित्यकार तथा समाजका अगुवाहरुले संयुक्त रुपमा लोकार्पण गरेका  थिए।

कार्यक्रममा बोल्दै लन्डन बरो अफ बार्नेटका पूर्व मेयर काउन्सिलर लक्ष्य गुरुङले पत्रकार ढकाल एक  ‘ग्लोबल सिटिजन’ भएको बताए। पत्रकारिता र लेखनबाहेक ढकालले अमेरिकाको लस एन्जलसमा   रिपब्लिकन पार्टीबाट  प्राइमरी चुनाव जितेको बताउंदै शुभकामना पनि दिए ।  

गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष रामशरण सिम्खडाले विद्रोही चेत भएका व्यक्तित्व नै साहित्यकार हुने बताए।  ढकालको ‘इश्वरलाइ  चड्कन’ भन्ने कविता उद्धृत गर्दै उनले यत्तिको चेत भएको सर्जक आफुले कमै देखेको जनाए ।

पत्रकार भगीरथ योगीले कवि ढकालले आफ्नो सिर्जना मार्फत समाजमा व्याप्त विभेद र अन्यायको विरोध गरेको बताए।  खासगरी पहिलो पुस्ताका नेपाली आप्रवासीहरुले प्रवासमा निकै संघर्ष गर्नु परेको र त्यस्तो संघर्षको कथाव्यथा ढकालका कविताहरुमा अभिव्यक्त भएको उनले जनाए।  उनले अंग्रेजी भाषामा प्रकशित पुस्तक मार्फत नेपाली समुदायका संघर्षका गाथा विदेशी समुदायका साथै प्रवासी नेपालीकै दोश्रो पुस्तासम्म पनि पुग्ने अपेक्षा व्यक्त गरे।  

कवि तथा पत्रकार ढकालले नेपाल टेलिभिजन, च्यानल नेपाल, नेपाली टीभी युके लगायतका मिडिया मार्फत नेपाली समुदायको सेवा गरेको स्मरण गरे।  भूपू गोर्खा तथा बेलायतस्थित नेपाली समुदायको समाचार संकलन र सम्प्रेषण गर्न आफुसधैं लालायित रहेको सम्झना गर्दै ढकालले भने, ” मैले देखेको देश र समाजलाई मैले पुस्तकाकारको रुपमा प्रकाशन गरेको हुँ ।” उनले भारत र चिनले आफ्ना डायस्पोरासंग रहेको बौद्धिक र आर्थिक श्रोत मुलुकको विकासमा लगाएको तर नेपालको नेतृत्वसंग त्यस्तो भिजन नभएको भन्दै दुख व्यक्त गरे। उनले प्रवासमा बस्ने नेपालीहरुलाई सम्बन्धित मुलुकको राजनीतिक मूलधारमा सक्रिय हुन र युवा पुस्तालाई त्यहींको राजनीतिसंग जोड्न सुझाव पनि दिए।

एनआरएनएका संस्थापक सचिव तथा समारोहका सभापति चिरन्जीवी ढकालले पत्रकार पुरुषोत्तम ढकालले बेलायतको नेपाली समाजको लागि पुराएको योगदानप्रति धन्यवाद दिए । उनले एनआरएनए अभियानमा सक्रिय रहन  उनलाई शुभकामना पनि दिए।