सिरहामा कुटपिटबाट वृद्धको हत्या

काठमाडौँ । सिरहाको नवराजपुर गाउँपालिका ४ नयाँ नहरनिया टोल बस्ने ७० वर्षीय सुभकलाल यादवको कुटपिट गरी हत्या भएको छ ।

सिरहा प्रहरीले हत्या अभियोगमा सोही ठाउँका १९ वर्षीय राधेश्याम यादवलाई सोमबार राति पक्राउ गरेको छ। सुभकलालको नाति र राधेश्याम यादवबीच भएको झैझगडा छुट्याउने क्रममा सुभकलाल यादवलाई कुटपिट भएको थियो ।

कुटपिटबाट गम्भीर घाइते उनको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसलगत्तै इलाका प्रहरी कार्यालय झाझपट्टी र इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न राधेश्यामलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।