लण्डन । बेलायतमा करिब डेढ महिनादेखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको छ ।
ह्याम्पसायर प्रहरीले दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार करिब दिउँसो ३ बजेतिर फेला परेको हो ।
प्रहरी औपचारिक रुपमा शव किरणको भए नभएको पहिचान हुन बाँकी भए पनि किरणकै हुनसक्ने अनुमान गरेको छ र परिवारलाई यसबारेमा जानकारी दिएको बताएको छ । परिवारलाई प्रहरीका विशेष दक्षता भएका अधिकृतहरुले सहयोग गरि रहेको बताइएको छ ।
ह्याम्पसायर तथा आइल अफ वाइटका ठूला अपराधका प्रमुख डिटेक्टिभ इन्स्पेक्टर आडम इडवार्डसले प्रहरीले किरणलाई के भएको थियो भन्ने प्रश्नको जवाफ परिवारलाई दिन कठोर कार्य गरिररहेको बताएका छन् । किरण कहिले र कसरी त्यो पार्कमा पुगे भन्ने बुझ्न आफूहरूका लागि महत्वपूर्ण भएको उनले बताएका छन् ।
सो क्षेत्रमा केही गलत भइरहेको जानकारी भएको भए वा केही शंकास्पद गतिविधि भएको थाहा भए प्रहरीलाई जानकारी दिन उनले अपील गरेका छन् । उनले सो क्षेत्रमा प्रहरीको अनुसन्धान चलिरहेको र घर घरमा गएर सूचना संङ्कलन गरिररहेकाले सहयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।
घटनाका बारेमा प्रहरीलाई आफ्नो परिचय गोप्य राखेर पनि जानकारी दिन सकिने उनले स्मरण गराएका छन् । एम्सबरीमा बस्ने पुन डिसेम्बर १ तारिखका दिन रेलबाट फार्नब्रो आएको र तत्पश्चात बस चढेर अल्डरसट रेल स्टेशन बाहिर झरेका थिए । त्यसपछि स्टेशन इष्ट रोडसम्म उनी पुगेको प्रहरीले पत्ता लगाएको थियो ।यसबीचमा किरणको हत्या आशंकामा गिरफ्तार भएका सबै ५ जना नै रिहा भएको प्रहरीले जनाएको छ ।
बेलायतको वील्सायर एम्सबरी निवासी भूतपूर्व गोर्खा तीर्थबहादुर पुनका ३६ वर्षीय छोरा किरण गत १ डिसेम्बर बिहीबार साढे ७ बजे अल्डरसट रेलवे स्टेशनमा बसबाट ओर्लिएको देखिएका थिए । त्यसयता उनी बेपत्ता थिए ।






