काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि बुधबार हुने निर्वाचनमा इतर समूहबाट महामन्त्री गगनकुमार थापा उठ्ने भएका छन् ।
सिंहदरबार अगाडिस्थित होटल बसेरमा अहिले बसेको इतर समूहको बैठकले गगनलाई दलको नेतामा उठाउने निर्णय लिएको एकजना केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।
उनका अनुसार संसदीय दलको नेताका लागि डा. शेखर कोइराला नेतृत्वको समूहबाट थापाले उमेदवारी दिने निर्णय भएको हो । कांग्रेस वरिष्ठ नेता कोइरालाले थापाको नाम संसदीय दलको उमेदवारका रुपमा बैठकमा प्रस्ताव गरेका हुन् ।
थापाको नाममा उपसभापति धनराज गुरुङले समर्थन जनाएपछि उपस्थित करिब ३ दर्जन सांसदले एक मतले समर्थन जनाएको शिवाकोटीले बताए । अब थापा बसेराबाट सिधै सिंहदरबारस्थित कांग्रेस दलको कार्यालय पुगेर उमेदवारी दर्ता गर्न जाने भएका छन् ।
कांग्रेसमा संस्थापनबाट सभापति शेरबहादुर देउवा छैटौँ पटक प्रधानमन्त्री हुने गरी दलको नेतामा उठ्न तयार भइसकेका छन् ।






