तमुधिं यूकेको अध्यक्षमा हरि गुरुङ सहित २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध

लन्डन । बेलायतस्थित नेपालीको प्रभावशाली स‌ँस्थामध्ये एक तमुधिं यूकेको अध्यक्षमा हरि गुरुङ निर्विरोध भएका छन् । मिचेटस्थित तमुधिं यूकेको भवनमा शनिबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष हरि गुरुङको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध भएको निर्वाचन समितिका संयोजक एकेन्द्र गुरुङले जानकारी दिए ।

उनले अध्यक्षमा हरि गुरुङ र अन्य पदाधिकारी र कार्यसमिति सदस्यको नाम आउँदो २६ तारिखमा घोषणा हुने बताए । तमुधिं यूकेकोमा प्राय: सहमतिमा नेतृत्व चयन गरिने परिपाटी रहेको छ । तमुधिं यूकेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष रहने व्यवस्था छ ।

त्यस्तै खेलकुद सचिव, मिडिया सचिव, सांस्कृतिक सचिव, च्यारिटी डिपार्टमेन्ट प्रमुख, प्रोपर्टी डिपार्टमेन्ट प्रमुख, युवा संयोजकसहित कार्यकारी सदस्यहरु चयन गरिन्छ । निर्वाचनमा अध्यक्ष हित काजी गुरुङ अन्य पदाधिकारी, निर्वाचन समितिका संयोजक एकेन्द्र गुरुङ, सदस्यहरु नारायणसिङ गुरुङ, मेरि कृष्णबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।

तमुधि युकेका सल्लाहकार डेबिड गुरुङले नया कार्यसमितिलाई सस्थाको गरिमालाई उँचो बनाई राख्न आग्रह गर्दै कार्यसफलताको शुभकामना समेत दिएका छन् ।

यसैबीच, तमूधिं यूकेले यही डिसेम्बर ३१ तारिखमा हि ल्हो (बिरालो वर्ग) को अवसरमा ल्होछार कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ख्यातिप्राप्त लोक तथा दोहोरी गीतका कलाकारहरु चिज गुरुङ, भिमु गुरुङ, लोकगायक सुरेन्द्र गुरुङ बेलायत आउने भएका छन् । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा बेलुकी ५ बजेदेखि हुने छ ।

निर्वाचन समितिले यसको औपचारिक घोषणा डिसेम्बर २६ तारिखमा गर्ने जनाएको छ । नयाँ समितिको कार्यकाल दुई वर्षको हुनेछ ।