लन्डन । एनआरएनए यूकेको स्पोन्सरसीपमा भिसा लिएर अर्कै समूहको कार्यक्रममा सहभागी हुन लागेका नेपालका कानूनी व्यवसायीको भिसा रद्द गरिएको छ ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले स्पोन्सर गरेर भिसा लिएका नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे तथा नेपाल बार एसोसिएसनका पूर्व महासचिव तथा वरिष्ठ अधिवक्ता सुनिल पोखरेलको भिसा बेलायती हाइ कमिसनमार्फत रद्द गरिएको हो ।
कानून व्यवसायी घिमिरे र पोखरेललाई अध्यक्ष गाहामगरले गत ६ अगष्ट, २०२२ को वार्षिक साधारणसभामा प्रमुख वक्ताका रुपमा आउन ३ जुलाइमा बोलाएका थिए ।
तर, उक्त कार्यक्रम सकिइसकिएको अवस्थामा एनआरएनए यूकेको अर्को विद्रोही समूहको कार्यक्रममा अहिले आउन लागेपछि आफूले नयां दिल्लीस्थित ब्रिटिश हाइ कमिसनमा इन्ट्री क्लियरेन्स अफिसर र बोर्डर फोर्सलाई ९ नोभेम्बरमा पत्राचार गरेर भिजा रद्द गरिएको अध्यक्ष गाहामगरले बताए ।
‘हामीले जुन प्रयोजनका लागि स्पोन्सर गरेका थियौं, भिसा ढिलाइले त्यो कार्यक्रममा उहांहरु आउन सम्भव भएन । अहिले उहांहरु बिना सन्दर्भ अवैधानिक समूहको कार्यक्रममा आउन लागेको थाहा पाएपछि मैले कठोर कदम चालेको हुं’, गाहामगरले भने ।
उनले बोर्डर फोर्सलाई शनिबार १९ नोभेम्बर र दुवै अतिथीहरुलाई २० नोभेम्बर आइतबार इमेलमार्फत बेग्ला बेग्लै जानकारी दिएको जनाए ।
‘हामीले संस्था भत्काउने र अरु समूहको पक्षपोषण गर्ने व्यक्ति खोजेका होइनौं । त्यस्तो तत्वलाई नियन्त्रण गर्न कुनै कसर बांकी राखिने छैन’, अध्यक्ष गाहामगरले भने ।
सुनिलबाबु खड्काको समूहले २७ नोभेम्बरमा लन्डन साउथ ह्यारोमा गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको स्वामित्व, उपभोग र स्वामित्व ग्रहण तथा हस्तान्तरण सम्बन्धमा रहेका कतिपय कानूनी अस्पष्टताका सन्दर्भमा छलफल गर्न एउटा कार्यक्रम गर्न लागेको थियो । तर, नेपालका अतिथीहरु नआउने भएपछि खड्काले शुक्रबार एक सूचना प्रकाशित गर्दै उक्त कार्यक्रम स्थगित भएको जनाएका छन् ।
ब्रिटेन नेपाल लयर्स एसोसिएसनको वार्षिक साधारणसभा तथा अन्तरक्रियामा समेत तिनै अतिथी बोलाइएको थियो । अब उनीहरु नेपालबाट जुममार्फत जोडिने एसोसिएसन श्रोतले जनाएको छ ।






