तेन्जिङ हिलारी एभरेष्ट म्याराथुनका प्रमुख योजनाकार विक्रम पाण्डे काजी बेलायत आईपुगे

लण्डन । तेन्जिङ हिलारी एभरेष्ट म्याराथुनका प्रमुख योजनाकार विक्रम पाण्डे काजी बेलायत आईपुगेका छन् । काठमाण्डौबाट दिल्ली हुँदै शुक्रवार लण्डन आइपुगेका पाण्डेले बेलायत बसाईका क्रममा यहाँ आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने तालिका रहेको छ ।

उनी ७ नोभेम्बर देखि ९ नोभेम्बरसम्म बेलायतमा हुने “ओरल्ड ट्राभल मार्केट इक्सेल लण्डन” मा सहभागी हुनेछन् । त्यस्तै उनले पर्यटन व्यवसायका सहयात्री आफ्ना साथी एवम् विभिन्न व्यवसायीहरुसगं भेटघाट गर्ने कार्यक्रम रहेको बताईएको छ ।

उनले बेलायत बसाईको क्रममा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले तेन्जिङ हिलारी एभरेष्ट म्याराथुन रनको समेत प्रचार प्रसार गर्नेछन् । नेपालको पर्यटन व्यवसायलाई पुनरुत्थानका विभिन्न अभियानमा समेत उनी सक्रिय भएर लाग्नेछन् ।

युरोप ग्रीसका महावाणिज्यदूत समेत रहेका पाण्डेले लामो समयदेखि नेपालको पर्यटन क्षेत्र र नेपालको सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनी लुम्बिनी, बोधगया, समथ र कुशीनगरसम्मको क्रसबोर्डर पर्यटनको अभियान्ता समेत हुन् । उनी लुम्बिनीका सद्भावनादूतको रुपमा काम गर्दै आएका छन् ।

जनयुद्धको समयमा “लुम्बिनी पिस म्याराथुन” को स्थापना गरेबापत शान्ति पुरस्कारबाट समेत पुरस्कृत भएका उनी रेडियो टुरिजमको फाउण्डर, पर्यटनविज्ञ र विश्वको उचाईमा हुने तेन्जिङ हिलारी अन्तराष्ट्रिय म्याराथुनका संस्थापक हुन ।

पाण्डेकाजीले तेन्जिड्ग हिलारी एभरेष्ट म्याराथन रन सगरमाथाको बेसक्याम्पबाट शुरु भई खुम्बु हाईल्याण्डको बाटो प्रयोग हुने जानकारी दिए ।

साथै बेलायतलाई आधार बनाएर कतार, युरोप र अमेरिकासम्म खाद्य पर्यटनको ब्यापक प्रचार प्रसारमा समेत उनी सक्रिय छन् ।

माउन्ट एभरेष्ट म्याराथनका सदभावनादूत बिनोद बराल र पाण्डे लगायत अन्य अभियन्ताहरूको पहलमा यही आउदो २३ मे २०२३ मा एभरेष्ट म्याराथुन हुँदैछ । कार्यक्रमकोलागी गैर आवसिय नेपाली संघ ईगंल्याण्ड राज्य समन्वय परिषदले सहयोग गर्नेछ ।